८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


श्री ३ सरकार, तीन लाठ र कर्मचारीमाथि बर्सिएको लौंरो !


0
Shares

काठमाडौं । शुक्रवार विहानै ईमेज एफको समाचारमा सुनियो, प्रधानमन्त्रीका तीन सल्लाहकारले सबै मन्त्रालयका सहसचिवलाई बोलाएर निर्देशन दिए भन्ने । समाचार सुनेर मात्र धित मरेन । समाचार छाप्ने अन्नपूर्ण पोष्टको समाचार नै अद्योपान्त पढें ।

समाचारको सार यस्तो थियो, प्रधानमन्त्री केपी शर्मा ओलीका वैतनिक तीन थान सल्लाहकारले एकसाथ मन्त्रालयका प्रवक्ताहरुलाई बोलाएर आफ्ना योजना सुनाए, सरकारी कर्मचारीले सरकारलाई नसघाएकोमा आपत्ति जनाए र सरकारका राम्रा कामको प्रचारप्रसार गरेर त्यसको रिपोर्ट आफुहरुलाई बुझाउन निर्देशन दिए ।

राम्रा काम कुरा मिडियामा आउँदैनन्, नराम्रा मात्रै आउँछन् भन्दै सल्लाहकारहरुले मिडियामा सरकारले गरेका सकारात्मक काम मात्र दिनुपर्ने उर्दी पनि लगाएछन् । नराम्रा कुरा दिएर राम्रा विषय लुकाएको भन्दै सल्लाहकारहरूले हकारेको समेत समाचारमा उल्लेख छ ।

यसरी निर्देशन दिनेमा प्रधानमन्त्रीले आफ्नो सल्लाहका लागि राखेका तीन जना सल्लाहकारमा प्रमुख सल्लाहकार विष्णु रिमाल, वैदेशिक सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा रहेछन् ।

तीन थान सल्लाहकारले एक ठाउँमा उभ्याएर चेन अफ कमाण्ड मिच्दै आफुहरुलाई पण्डित्याई छाँटेकामा उपस्थित कर्मचारीहरुलाई मन परेको रहेनछ । मन नपर्ने मध्ये कसैले सञ्चारमाध्यमलाई बेलुकी सूचना चुहाइदिए ।

समाचारले आफ्नो लिड लाइन अर्थात् मूल खबरमा लेखेको छ, ‘प्रधानमन्त्रीलाई विज्ञ सल्लाह र सुझाव दिन नियुक्त भएका सल्लाहकारले प्रथम श्रेणीका कर्मचारीलाई ठाडो निर्देशन दिने ‘असंवैधानिक चलन’ सुरु गरेका छन् । राष्ट्रका नाममा शपथ नखाएका तर सुझाव दिनमात्र सम्बन्धित क्षेत्र तोकिएका विज्ञले सबै मन्त्रालयका प्रवक्तालाई बिहीबार बोलाएर के गर्न र के नगर्न निर्देशन दिए ।’

नाम उल्लेख गर्न डराएका एक सहभागिले, सहसचिवस्तरका प्रवक्ताहरूले ‘सल्लाहकारका गैरसंवैधानिक क्रियाकलाप अस्वाभाविक रूपले सहनु परेको’ भनेका छन् ।

समाचारमा पूर्व मूख्यसचिव डा. विमल कोइरालाले टिप्पणी गरेका छन्, यो पूर्ण रुपमा नभएको अधिकार प्रयोग हो । विधिविहीनता र अराजकता हो । अधिकारै नभएका सल्लाहकारहरुले कर्मचारीलाई कुन आधारमा निर्देशन दिए ? उनले भनेका छन् । 

पूर्वसचिव खेमराज रेग्मीले पनि कानुन र संविधानले नचिनेका व्यक्तिले कर्मचारीलाई निर्देशन दिने अधिकार नरहने भन्दै यस्ता अनुचित कामलाई प्रोत्साहन नगर्न भनेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने यसलाई नियमित प्रक्रिया मात्र रहेको र पहिले पनि हुने गरेको भन्दै बचाउ गरेका रहेछन् । उनले कुनै निर्देशन नदिइएको बरु कसरी सूचना प्रभावकारी बनाउन सकिन्छ भनेर प्रधानमन्त्रीको अपेक्षा सुझाएको तर्क गरेका छन् ।

यो समाचार पढिसकेपछि मलाई भने कुनै बेला नेपालमा रहेको श्री ३ सरकार र त्यस मातहत रहने लाठ साबहरुको याद आयो ।

सबैलाई जानकारी भएकै विषय हो, नेपालले १०४ वर्ष श्री ३ को सरकार ब्यहोर्यो । श्री ३ को श्रीपेच लगाएर राणाहरुले जहानियाँ शासन चलाए । राज्य सत्ताका मूल पदहरु राणाजीहरुका लागि मात्र थिए । रैतीका सन्तानले राज्यका उपल्ला तहमा पुग्न त कल्पना पनि गर्न सक्दैनथे ।

त्यस बेलाको पद्धतिमा श्री ३ महाराज एवं प्रधानमन्त्री मूल सर्वेसर्वा हुन्थे । तर प्रधानमन्त्री बन्ने रोलमा रहेका रोलवाला राणाजीहरु पनि उत्तिकै हुन्थे । उनीहरुका लागि भने रोलक्रमका आधारमा मुलुकको कार्यभार विभाजन गरेर दिइन्थ्यो । जसलाई कमाण्डिङ जर्नेल भनिन्थ्यो ।

त्यसका लागि चारै दिशाका लागि एक/एक जर्नेल छुट्टयाइन्थ्यो । पूर्वतर्फको मामला हेर्न पूर्वी कमाण्डिङ जर्नेल अर्थात् पूकज, पश्चिमतर्फको मामला हेर्न पश्चिम कमाण्डिङ जर्नेल अर्थात् पकज, दक्षिणतर्फको मामला हेर्न दक्षिण कमाण्डिङ जर्नेल अर्थात् दकज र उत्तरतर्फको मामला हेर्न उत्तर कमाण्डिङ जर्नेल अर्थात् उकजको जिम्मेवारी दिइएको हुन्थ्यो ।

उनीहरु श्री ३ महाराज र प्रधानमन्त्रीपछिका शक्तिशाली शासक कहलिन्थे । उनको रवाफ र दकच पनि उत्तिकै हुन्थ्यो । तर यीभन्दा मुनितिर हुन्थे । लाठ साहेबहरु । उनीहरु कमाण्डिङ जर्नेल जत्तिका शक्तिशाली त हुँदैनथे त र सत्ता र शक्तिमा पहुँचचाहिँ रहन्थ्यो ।

कतिपय अवस्थामा उनीहरुको पहुँच श्री ३ सम्म पनि रहन्थ्यो । त्यही पहुँचलाई देखाएर उनीहरु मातहतका कर्मचारी र रैतीलाई खुबै सताउँथे । उनीहरुको आदेशको अवज्ञा गर्ने साहस र हिम्मत त्यतिबेला कस्को हुनु ? अहिले त तीन सरकारका लाठ साबहरुले यसरी गैरअधिकारीय काम गर्दा चूँ बोल्न नसक्ने कर्मचारीतन्त्र रहेको देशमा त्यतिबेला त के कल्पना गर्नु ?

लोकतन्त्र भनेको विधि र कानुनको शासन हो । पद्धति, प्रक्रिया र व्यवहार सबै लोकतान्त्रिक भएमात्र व्यवस्था लोकतान्त्रिक ठहर्छ । नभएको अधिकार प्रयोग गर्न खोज्नु पनि अख्तियारको दुरुपयोग हो । यो दण्डनीय हुनुपर्छ । यसतर्फ चनाखो हुनुपर्ने त सत्ता र शक्तिमा भएकाहरु नै हुन् । सत्ता बाहिर रहेकाहरुले पनि थिति मिचिन लाग्दा खबरदारी गर्न झुक्नु र चुक्नुचाहिँ हुन्न है !