
काठमाडौं, भदौं ११ । नेपालमा अभियन्ता बन्नेहरुले सामाजिक सन्जालमा ‘भाइरल’ हुन कतिपय मुद्दामा बिना अध्ययन र तथ्य बोल्ने र अफवाह फैलाउने गरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
कामाडौंमा ग्लोबल युथ पार्लियामेन्टले आज गरेको भर्चुअल कार्यक्रममा वक्तारुले समाजमा अफवाह फैलाएर नयाँ पुस्तालाई गलत बाटोतिर तानिरहेकामा ध्यानाकर्षण गराए ।
विरोधको पछाडी प्रमाणित तर्क, त्यसको विकल्प र समाधन दिनेभन्दा पनि आफू लोकप्रिय बन्न चर्को विरोध गर्ने र कूतर्क पेश गर्नेहरु नै अभियन्ताका रुपमा चर्चामा रहेको उनीहरुको भनाइ छ ।
सत्यको मानक र समाजको पथप्रदर्शक बन्नुपर्ने सामाजिक अभियन्ता सस्तो प्रचारमा दौडिएको र तिनैको कुराको पछि युवा पुस्ता लाग्नु डरलाग्दो हुने उनीहरुले बताए ।
कार्यक्रममा पत्रकार टीकाराम यात्रीले अभियन्ताहरुले प्राप्तिको आकांक्षा नराखी काम गर्न सक्दा समाजले उनीहरुबाट लाभ लिन सक्ने बताउनुभयो ।
अर्का वक्ता नायिका रेखा थापाले बिगत लामो समयदेखि युवालाई राजनीतिक दलले प्रयोग मात्र गरेको र उनीहरुको ब्यक्तित्व निर्माणमा बेवास्ता गरेकाले आज समाजमा त्यसको असर देखिएको बताउनुभयो ।
यसैगरी, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले युवालाई भ्रमबाट जोगाउन शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका टिप्पणीकार पत्रकार एवं मानवअधिकारवादी राजन कुईंकेलले सामाजिक अभियानको नाममा अभियन्ताहरुले आफू लोकप्रिय हुन गलत सूचनाको सहारा लिनेगर्दा समाजमा विग्रह ल्याउने बताउनुभयो ।
संसारमा आपत–विपद, प्रकोप र महामारी जस्ता समयमा ल्याइने गलत सूचनाको बाढीले युवासहित समाजको तप्कालाई भ्रममा राख्ने गरेकाले यसबाट बच्न सूचना साक्षरता जरुरी भएको उहाँले उल्लेख गर्नुभयो ।
ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले विषयवस्तु माथि राम्रो ज्ञान नराखी प्रचारको लागि मात्र गरिने कामले समाजलाई गलत बाटोमा हिंडाउने बताउनुभयो । भैरहेका जे जति विकासका आयोजना, कूटनीतिक, राजनीतिक तथा प्रशासनिक विषयमा आफ्नो विचार निर्माण गर्दा समाजमा भ्रम नजाने गरिनुपर्ने अर्यालको भनाइ थियो ।
कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक सविन लामिछानेले नयाँ पुस्ताका लागि सही सूचनामा पहुँच पुर्याउन सक्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्