
अक्कल कुँवर
काठमाडौं, भदौ १७ । आसन्न १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र महाधिवेशनको सरगर्मी तीब्र बन्दै गएको छ । नेतृत्वका आकांक्षीहरु एकपछि अर्को गरी उम्मेदावारी घोषणा गर्न थालेका छन् । पार्टीको नेतृत्व लिन आधा दर्जन बढी नेताहरुले आकांक्षा देखाएसंगै उनीहरुको सामथ्र्यबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ ।
संस्थापन पक्षबाट सभापति शेरवहादुर देउवा सहित ३ जना र संस्थापन इतर पक्षबाट रामचन्द्र पौडेलसहित ६ जनाले नेतृत्वको आकांक्षा देखाएका छन् । १३ औं महाधिवेशनबाट पार्टीभित्र तेस्रो समूहको नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्ण सिटौलाले पनि नेतृत्वको लागि कसरत गरिरहेका छन् । आकांक्षीहरुमध्ये कतिपयले उम्मेद्वारी दिने घोषणा गरेर सम्पर्क कार्यालय समेत खोलिसकेका छन् भने अन्य तयारीमा छन् । नेतृत्वका आकांक्षीहरुले आन्तरिक कसरतलाई तीब्रता दिएसंगै आकांक्षीहरुको शक्तिको लेखाजोखा पनि सुरु भएको छ । राजनीतिक विश्लेषक डा.राजेश गौतम नेताजस्तै कार्यकर्ता पनि विभाजित अवस्थामा रहेकाले शक्ति मापन गर्न सहज नभएको बताउनुहुन्छ ।
पार्टी नेतृत्वका लागि आकांक्षा राखेपनि उद्देश्य, कार्यदिशा र एजेण्डा कुनैपनि आकांक्षीले प्रस्तुत गर्न सकेका छैनन् । वर्तमान सभापति देउवाबाहेक अन्य आकांक्षी नेतृत्वका दृष्टिले नयाँ हुन् । आफ्नो कार्यकालमा पार्टीलाई कमजोर बनाएको भन्दै कार्यकर्ताको ठूलो पंक्ति सभापति देउवाप्रति नकारात्मक छ । देउवाप्रतिको यहि असन्तुष्टिलाई अन्य आकांक्षीहरुले नेतृत्वमा पुग्ने सिंढीको रुपमा प्रस्तुत गरेका छन् । तर, विश्लेषक गौतम सभापति देउवा बाहेक नेतृत्वका अन्य आकांक्षीले पार्टीलाई नवजिवन दिन कुनै एजेण्डा प्रस्तुत गर्न नसकेको टिप्पणी गर्नुहुन्छ ।
नेतृत्व परिर्वतन गर्नसके पार्टीमा देखिएका विद्यमान समस्या समाधान हुने विश्वास गर्ने पार्टीभित्र ठूलो पंक्ति छ । विश्लेषक गौतम भागवण्डा प्रवृत्ति रहेसम्म कांग्रेस बलियो हुननसक्ने जिकिर गर्नुहुन्छ ।
नेतृत्व हत्याउन तीव्र धु्रविकरण र कसरत भएपनि विद्यमान समस्या समाधानका लागि कुनै पनि पत्याशीले आकर्षक एजेण्डा दिन सकेका छैनन् । आकांक्षीहरु मनोगत एजेण्डामै रुमल्लिएका छन् । यसबाट के प्रष्ट हुन्छ भने नेतृत्वमा जो पुगेपनि पार्टी जीवनमा परिवर्तन आउने सम्भावना छैन ।
प्रतिक्रिया दिनुहोस्