
पर्वत, भदौ १८ । अविरल वर्षापछि पर्वतको विभिन्न स्थानमा पहिरोजाँदा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।
प्रदेश प्रहरी कार्यालय गण्डकीले दिएको जानकारी अनुसार जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोमा परी १० जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर अझै एक जना बेपत्ता छ्न् । पहिरोमा पुरिएर कुश्मा नगरपालिका–३ दुर्लुङ भोगेनी बस्ने एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७५ वर्षीय कौशिला पौडेल, ३५ वर्षकी भगवती पौडेल, १६ वर्षकी बिमला पौडेल, ११ वर्षीय बिनिता पौडेल र ९ वर्षका विनोद पौडेल रहेको प्रहरीले जनाएको छ ।
यस्तै, कुश्मा नगरपालिका–११, सिल्मिका मनिलाल पौडेलको घर पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पौडेलको घरमा पाहुना बस्न आएका आमा छोरा रहेका छन् ।
पाहुना गएका मोदी गाउँपालिका– ७, राम्जा घर भएकी ३८ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेशको मृत्यु भएको हो ।
यस्तै कुश्मा–११ पकुवा ताल्चेमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुश रहेको प्रहरीले जनाएको छ ।
मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पौडेल पहिरोमा बेपत्ता भएकी छन् । यस्तैै पर्वतको मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट खसेकोे पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ । पर्वतमा बिहीबारदेखि नै विद्युत् सेवा अवरुद्ध भएपछि पर्वतमा सञ्चार सम्पर्क समेत विच्छेद छ । सञ्चार सम्पर्क बिच्छेद र निरन्तर बर्षाका कारण उद्दारमा कठिनाई भएको पर्वतका प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्