
काठमाडौं, भदौं १९ । अफगानिस्तानमा तालिबानी शासनको त्रासबीच नै पनि महिलाहरु सडकमा उत्रिएका छन् । उनीहरुले राष्ट्रपति भवन अगाडी प्रदर्शन गरेका हुन् ।
उनीहरुले सरकारमा महिलालाई पनि सामेल गराउन माग गरेका छन् । उनीहरुले अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर प्रदर्शन गरेका हुन् ।
अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै संसारभरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् ।
उनीहरुले पुरुषसरह महिलालाई पनि अधिकार हुनुपर्ने माग पनि गरेका छन् । बीस वर्ष अगाडीको तालिबानी शासनमा महिलामाथि गरिएको बर्बर अत्याचारको त्रासमा परेका महिलाहरुले यस पटक त्यस्तो नहोस् भनिरहेका छन् ।
त्यसबेला सबै महिलाले पूरै शरीर ढाक्ने बुर्का अनिवार्य लगाउनुपर्नेदेखि दश वर्षमाथिका बालिकालाई विद्यालय जानसमेत रोक लगाइएको थियो । तालिबानले उसको शासन इस्लामी कानून अर्थात् शरियाअनुसार हुने जनाएको छ ।
तालिबानले काबुल कब्जा गरेलगत्तै महिलालाई घरमै बस्न उर्दीसमेत जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्