१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गण्डकी प्रदेशका चार जिल्लामा विद्युत आपूर्ति बन्द


0
Shares

काठमाडौं, भदौ १९ । पहिरोले पर्वतमा विद्युत प्रसारण लाइनका टावर ढालेपछि गण्डकी प्रदेशका चार जिल्लामा विद्युत आपूर्ति बन्द भएको छ ।

पर्वत, बागलुङ, म्यादी र मुस्ताङको विद्युत आपूर्ति बन्द भएको हो । पर्वत सदरमुकाम कुश्मा नजिकै रहेको नेपाल विद्युत प्राधिकरणको मोदी खोला विद्युतगृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने टावर पहिरोले शुक्रबार बिहान ढालेको हो ।

मोदी–१ जलविद्युत आयोजनाको विद्युत मोदी सबस्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावरलाई पहिरोले ढालेको छ ।

यसबाट निजी क्षेत्रको स्वामित्वमा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युतगृहहरुको ६८.२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ ।

टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो ।

प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत आपूर्तिलाई सञ्चालन गर्न प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायतको टोलीलाई खटाएको छ ।