२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भदौं २३ का लागि संसद अधिवेशन बोलाउन सरकारको सिफारिश

एक महिनाकै अन्तरालमा बोलाइयो संसद बैठक

0
Shares

काठमाडौं, भदौ १९ । सरकारले भदौं २३ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिश गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

कार्कीका अनुसार, भदौ २३ गते अपराह्न ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको छ ।

संविधानमा सरकारको सिफारिशमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ ।

यसअघि सरकारकै सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गर्नुभएको थियो ।

भदौं २२ गतेसम्म नेकपा एमाले र जनता समाजवादीबाट छुटेर जाने जनप्रतिनिधिलाई नयाँ दलमा सनाखत गर्ने समय निर्वाचन आयोगले दिएको छ । उक्त समय सकिने बित्तिकै सरकारले एक महिना अगाडी अन्त्य गरेको अधिवेशन फेरि आह्वान गरेको हो ।

संसद बैठक बोलाउने निर्णय गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि सापकोटासँग भेटघाट गर्नुभएको थियो ।

त्यसैगरी, सत्तारुढ दलका शीर्ष नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो ।