
बैतडी, भदौ २२ । बैतडीमा रहेका १० स्थानीय तहका सबै वडामा नेपाली कांग्रेसको वडा तहको अधिवेशन सम्पन्न भएको छ ।
सोमबार र मंगलबार गरेर जिल्लामा सबै ८४ वडामा अधिवेशन सम्पन्न भएको हो । जसमध्ये ७७ वडामा सर्वसम्मत र ७ वडामा निर्वाचनमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनौट गरिएको हो ।
निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार मैलाली नगरपालिका– ६ र ७, शिवनाथ गाउँपालिका–४, दशरथचन्द नगरपालिका–६ र ८, पाटन नगरपालिका– ७ र सिगास गाउँपालिका–८ मा निर्वाचन भएको हो ।
बाँकी वडाहरुमा भने सर्वसम्मत रुपमा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि छनौट गरिएका हुन् । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि देशका अधिकांश जिल्लामा भदौ १८ गतेदेखि वडा तहको अधिवेशन सुरु भएको थियो ।
बैतडीमा भने तयारी नपुगेको भन्दै भदौ २१ गते वडा तहको अधिवेशन गर्ने निर्णय भएको हो । तर सोमबार सबै वडामा सर्वसम्म्मत् अधिवेशन हुन नसक्दा केही वडामा आज पनि अधिवेशन भएको निर्वाचन समितिले जनाएको छ । जिल्लामा ६ हजार ६ सय कांग्रेसका क्रियाशील सदस्यहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्