
काठमाडौं, भदौं २३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डडेलधुरा कांग्रेसमा भएको भाँडभैलोप्रति आपत्ति जनाउँदै सजकताका लागि सबैलाई आह्वान गर्नुभएको छ ।
कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र केन्द्रबाटै नयाँ सदस्य थपिएको भन्दै विवाद बढेको छ ।
जिल्ला कार्यसमितिले सिफारिश नै नगरेका तीन सय जनाभन्दा बढीको नाम केन्द्रबाटै थपेर सदस्य बनाइ त्यसको विवरण जिल्लामा पठाएपछि विवाद बढेको हो । त्यसमा उल्टै जिल्लाबाट पठाइएका करिब पाँच सय जनाको क्रियाशील सदस्यता भने काटिएको आरोप लगाइएको छ ।
यस्तोमा बुधबार बिहान सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत् नेता कोइरालाले पार्टी कसरी चलाइँदै छ भन्ने यो एउटा दृष्टान्त हाे भन्नुभएको छ । आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिका उम्मेदवारसमेत रहनुभएका कोइरालाले पार्टी सभापतिकै जिल्लामा यस्तो हर्कत देखिएकाले सचेत रहनुपर्ने अवस्था आएको तर्फ ईग्गित गर्नुभएको छ ।
कोइरालाले लेख्नुभएको छ, ‘नेपाली कांग्रेस डडेलधुराबाट वडादेखि जिल्लासम्म कुनै विवाद नभई केन्द्रमा पठाईएका ४ सय ६० जनाको क्रियाशील सदस्यता हटाई जिल्लाका कुनै निकायमा थाहा नै नभएका ३ सय १२ जनाको नाम थपिनु गलत हो । यो लोकतान्त्रिक प्रकृया हुनै सक्दैन । यसले पार्टी कसरी चलाईंदैछ भन्ने प्रमाण दिन्छ । यस सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रबाट खटिइएका निर्वाचन अधिकृतको रोहवरमा ती क्रियाशील सदस्यता नसच्याई वडा अधिवेशन अघि नबढ्ने बताउँदा पनि निर्वाचन अधिकृतवाट आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद छ । सिङ्गो जिल्ला कार्यसमितिले एकै स्वरमा यथास्थितिमा जिल्लामा अधिवेशन हुनै सक्दैन भन्दा भन्दै प्रकृया कसरी अघि बढ्ला र ?’
डा. कोइरालाले समग्र निर्वाचन समितिको विश्वसनीयता माथि पनि प्रश्न गर्दै लेख्नुभएको छ, ‘यस्तो क्रियाकलापले क्रियाशील छानबिन गर्ने आधिकारिक निकाय र अझ नमिलेका केही जिल्लाको क्रियाशील सदस्य छानविन गरी टुंगोमा पुर्याउन बनेको समितिको विश्वसनीयतामा शंका गर्ने प्रसस्त ठाउँ दिएको छ । म उहाँहरुलाई यस सम्बन्धमा आफ्ना भनाईहरु सार्वजनिक गर्न र ती क्रियाशील सदस्यताका वारेमा पुनर्विचार गर्न आग्रह गर्दछु ।’
भदौं १८ मा वडा अधिवेशन तोकिएकामा अझै पनि २१ जिल्लाको क्रियाशील सदस्य नै सार्वजनिक नगरिनुले नराम्ररी झस्काएको भन्दै उहाँले प्रश्न गर्नुभएको छ, ‘भदौ १८ गतेका लागि तोकिएको वडा अधिवेशन कतिपय जिल्लामा भए पनि २१ जिल्लाको क्रियाशील सदस्यताको नाम समेत सार्वजनिक गर्न नसकेको आजको स्थितिमा डडेलधुरा घटनाले हामी सबैलाई नराम्ररी झस्काएको छ । यो कतै नेपाली कांग्रेसको महाधिवेशन नगर्ने बहाना त हैन ? यसरी महाधिवेशनको प्रकृया पूरा हुन्छ भन्नेमा म विश्वस्त हुन सक्दिन । साथीहरु सबै सचेत बनौं । आफ्नो आफ्नो स्थानबाट विरोध गरौं । जय नेपाल !’
प्रतिक्रिया दिनुहोस्