
काठमाडौं, भदौं २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पार्टीको कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा गर्न सभापतिसमक्ष प्रस्ताव गर्नुभएको छ ।
बिहीबार सभापति शेरबहादुर देउवासितको भेटमा उहाँले अनुशासनको कारबाहीमा परेका नेताहरूको कारबाही तत्काल फिर्ता लिन प्रस्ताव गर्नुभएको हो । १४औँ महाधिवेशनमा उनीहरूले भाग लिन पाउने गरी कारबाही फुकुवा गर्नुपर्ने बताउनुभएको हो ।
गत निर्वाचनमा आफूविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै आफैले पार्टीबाट निष्काशन गर्न दबाब दिँदै कार्वाही गरेका जोशीलाई महाधिवेशनको सम्मुखमा किन कार्वाही फुकुवा गर्न खोजिएको भन्नेचाहिँ पौडेलले प्रष्ट गर्नुभएको छैन ।
तनहुँका गोविन्दराज जोशीका अतिरिक्त कैलालीका पुष्कर ओझालगायतको कारबाही पनि फिर्ता लिन उहाँले माग गर्नुभएको हो । ओझामाथि भने सभापति देउवा पत्नी आरजु राणालाई चुनाव हराउन षड्यन्त्र गरेको भन्दै कार्वाही गरिएको थियो ।
गत संसदीय चुनावमा पार्टीका आधिकारिक उमेदवारलाई सहयोग नगरेको भन्दै अरु धेरै नेता कार्यकर्ता कार्वाहीमा परेका थिए ।
आफूपक्षीय नेताहरुसँगको छलफलपछि देउवासित भेटवार्ताका लागि बालुवाटार पुगेका वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, मीनेन्द्र रिजाल, जीवनबहादुर परियार लगायत नेताले कार्वाही फिर्ता लिनुपर्नेमा दबाब दिएका हुन् ।
नेताहरुले डडेलधुरालगायत २१ जिल्लाको विवाद मिलाएर मात्रै पालिका अधिवेशन गर्न पनि माग गरेका छन् । मन्त्रिपरिषद् विस्तारमा ढिलाई गर्दा सरकारको छबी खस्कँदै गएको पनि उनीहरुले बताएका थिए । वडा अधिवेशन नसकाई पालिका अधिवेशन नगर्न पनि नेताहरुले ध्यानाकर्षण गराएका छन् ।
भदौ १८ गते वडा अधिवेशनको मिति तोकेको कांग्रेसमा अझै पनि २१ जिल्लाका क्रियाशील सदस्य सूची सार्वजनिक नगर्दा अन्यौल बढेको छ ।
मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, कपिलवस्तु, बाँके, बर्दिया, डोल्पा र सुर्खेत, कैलाली र बाजुरा जिल्लाको क्रियाशील सदस्यता सूची अझै सार्वजनिक गरिएको छैन ।
भदौ २७ गते पालिका, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन तथा असोज १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन गर्ने निर्वाचन तालिका रहेको छ ।
यसैगरी, थुप्रैं पटक संशोधित निर्वाचन तालिकापछि प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते तथा केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म गर्न नेताहरुबीच सहमति बनेको छ ।
प्रतिक्रिया दिनुहोस्