
काठमाडौं, भदौं २५ । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले लोकतात्रकै उपहास गरेको आरोप लगाउनुभएको छ ।
सभापतिकै गृहजिल्ला डडेलधुरामा प्रहरी बलमा पार्टीका वडा अधिवेशन थालिएकामा आपत्ति जनाउँदै नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका देउवाले प्रशासनिक दुरुपयोग गरेर लोकतन्त्रकै उपहार गरेको आरोप लगाउनुभएको हो ।
सामाजिक सञ्जालमा पौडेलले लेख्नुभएको छ, ‘नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता बेगर प्रशासनीक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो ।’
उहाँले पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र तर व्यवहार अलोकतान्त्रिक भन्दै थप टिप्पणी गर्दै लेख्नुभएको छ, ‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र – तर व्यवहार अलोकतान्त्रिक ! नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरीक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ । महाधिवेशनको लागि यो शुभसंकेत होइन ।’
यसअघि नेता पौडेलसहितका संस्थापन ईतरका नेताहरुले सभापति देउवालाई भेटेर पार्टी निर्वाचनलाई धाँधलीरहित र निश्पक्ष बनाउन सहयोग गर्न भन्दै ध्यानाकर्षण गराएका थिए ।
यसबारेमा नेता पौडेलले लेख्नुभएको छ, ‘मेरो नेतृत्वमा महामन्त्री डा. शशांक कोईराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह के.सी, डा. मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले हिजो सभापति श्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट गर्यौँ । सो अवसरमा पार्टीका कृयाशील सदस्यहरुको छानबीन निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं ।’
प्रतिक्रिया दिनुहोस्