
काठमाडौं, भदौं २५ । पहिरो र बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची खानेपानीको परियोजना मर्मत गरी आगामी चैत्रसम्ममा फेरि काठमाडौं ल्याउने प्रतिवद्धता सरकारले जनाएको छ ।
प्रतिनिधि सभामा शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्दै २०७८ चैतसम्ममा मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषणा गर्नुभएको हो ।
नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच विधेयक पेश गर्नुभएका शर्माले २०७८ चैत मसान्तसम्म काठमाडौंमा फेरि पानी झार्ने प्रतिवद्धता जनाउनुभएको हो ।
यस सिजनको मनसुन शुरु हुने बित्तिकै सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा आएको पहिरो र बाढीले मेलम्ची खानेपानी आयोजना ध्वस्त भएको छ । यसको मर्मतका लागि दुई अर्बभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ ।
दुई दशक लामो प्रतीक्षापछि काठमाडौंवासीको धारामा मेलम्चीको पानी झरेको भए पनि परियोजना पूर्ण रुपमा कार्यान्वयनमा नआउँदै पहिरोको चपेटमा पर्दा मेलम्ची फेरि अन्यौलमा परेको हो ।
प्रतिक्रिया दिनुहोस्