
काठमाडौं, भदौ २५ । सूचना, समाचार र मनोरञ्जनको त्रिवेणी रहँदै आएको इमेज ग्रुप अफ कम्पनीजले औपचारिक कार्यक्रमबीच एचडी प्रविधि आरम्भ गरेको छ । नेपालको टेलिभिजन इतिहासमा स्थापनाको २५ वर्ष टेकेको ईमेज टेलिभिजनले एचडी प्रविधिमा विस्तारित भएसंगै कार्यक्रममा विविधता ल्याउने घोषणा गरेको छ ।
निजीक्षेत्रको पहिलो टेलिभिजनको इतिहास बनाएको इमेज ग्रुप अफ कम्पनीजले रियालिटी शो, हास्यव्यंग्य, नृत्य र अपराधसम्बन्धी रोचक सामग्री उत्पादन तथा प्रसारण गर्ने प्रतिवद्धता जनाएको हो । इमेज कम्प्लेक्स लाजिम्पाटमा भएको एचडी प्रसारण आरम्भको औपचारिक कार्यक्रममा गीतसंगीातको उन्नयनबाट शुरु भएको इमेजको सञ्चारयात्रा सञ्चार प्रविधिमा आएको परिवर्तनसंगै थप परिष्कृत गर्दै लैजाने बताइएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुले प्रविधिसंगै गुणस्तरीय उत्पादनमा ध्यान दिन आग्रह गरेका थिए । एचडी प्रविधिको शुभारम्भ गर्दै कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरके मानन्धरले यहाँसम्म आइपुग्दा थुप्रै हण्डर ठक्कर खानुपरेको भन्दै गौरवपूर्ण लामोयात्राले आफूलाई सुखानुभूति दिने गरेको बताउनुभयो ।
राजनीतिक दलहरुले मिडियालाई सत्तामा हुँदा शत्रु र प्रतिपक्षमा मित्रको दोहोरो चरित्र प्रदर्शन गर्ने गरेको प्रति असन्तुष्टि जनाउँदै उहाँले श्रोता, दर्शक र सहकर्मी आफ्नो पूँजी भएको बताउनुभयो । राज्यले नामको मात्रा चौथो अंगको भूमिका दिएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
ग्रुपका प्रमुख कार्यकारी अधिकृत डा. महेन्द्र विष्टले ईमेजका प्रसारण अब प्राविधिक दृष्टिले मात्र नभई गुणस्तरका हिसावले पनि बहुआायामिक हुने स्पष्ट गर्नुभयो । उहाँले लोकतन्त्रमा मिडिया थप जिम्मेवारपूर्वक चल्नुपर्ने स्थिति रहेकाले त्यसप्रति इमेज प्रतिवद्ध रहेको बताउनुभयो ।
२०५३ सालदेखि निजीस्तरबाट प्रशारणमा आएको इमेज च्यानलले प्रसारणको ५ वर्षपछि २०५९ साल माघ १७ गतेदेखि उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्ट्रियलमाध्यमबाट इमेज मेट्रो च्यानल प्रसारण सुरु गरेको थियो । यसले २०६३ माघ ११ गतेदेखि स्याटेलाइटमार्फत आफ्नो प्रसारण विश्वभर जोड्न सफल भयो ।
टेलिभिजन, रेडियो र अनलाइनमार्फत सञ्चार क्षेत्रमा उपस्थित जनाइरहेको ईमेज ग्रुप अफ कम्पनीले श्रोता, दर्शक र पाठकका रुचिलाई आफ्नो कमाई ठानेको छ ।
प्रतिक्रिया दिनुहोस्