
काठमाडौं, भदौं २७ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले अग्नि सापकोटा सभामुखको कुर्सीमा बस्न लायक नभएको भन्दै आलोचना गर्नुभएको छ ।
आइतबार बसेको संसदीय दलको बैठकमा उहाँले एमाले फुटाउन सभामुख षड्यन्त्रपूर्ण रुपमा संलग्न भएको भन्दै संसदको अवरोध कायम राख्ने तर संयमित बन्न सांसदहरुलाई निर्देशन दिनुभएको थियो ।
पार्टीले तोकेका भन्दा बाहिरका नारा नलगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएकाले आज बसेको पहिलो बैठकमा एमालको सांसदहरु केही संयमित जस्ता देखिएका थिए ।
सदनको कार्वाही चल्न नदिन रोष्टम अगाडी पुगेर नाराबाजी गरेका उनीहरुले अघिल्ला बैठकमा जस्तो हुलहुज्जत गरेका थिएनन् । शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा उनीहरुले रोष्टममा चढ्नुका साथै सुरक्षाकर्मीलाई टोक्नेसमेतको प्रयास गरेका थिए । जसको तीब्र आलोचना भएको थियो ।
यसैबीच, ओलीले शुक्रबारको बैठकमा सभामुखलाई माइक हान्ने कुनै योजना नभएको स्पष्टीकरण पनि दिनुभएको छ । उक्त दिनको बैठकपछि एमाले सांसद रेखाकुमारी झाले सञ्चारकर्मीहरुसँग सभामुखको टाउकोमा माइक हान्ने योजना रहेको प्रतिक्रिया दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्