२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राप्रपा अब कहिल्यै फुट्दैन : कमल थापा


0
Shares

काठमाडौं, भदौ २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली काँग्रेसभन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रपा अब कहिल्यै नफुट्ने बताउनु भयो । अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गर्नुभयो ।

अर्का अध्यक्ष पशुपति समशेर जबराले कम्युनिष्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताउनु भयो । उहाँले नेपालका ठूला पार्टी भनेको नमूना मात्रै भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको बताउनुभयो ।

राप्रपाको केन्द्रीय महाधिवेशन नयाँ विधानअनुसार आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा हुँदैछ । राप्रपामा मुलुकका ७५३ वटै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरु महाधिवेशनका प्रतिनिधिहरू हुनेछन् । प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट कम्तिमा ९ जनाको दरले सक्रिय सदस्यहरूमध्येबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउनेछन् ।