२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


लोकसेवा आयोग विधेयक पारित


0
Shares

काठमाडौं, भदौ २८ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधकाबीच राष्ट्रियसभाको दोस्रो बैठकले लोकसेवा आयोग विधेयक-२०७८ पारित गरेको छ ।

राष्ट्रियसभाको आजै बसेको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद पारेका थिए । तर अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक–२०७८ निर्णयार्थ पेश गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिनु भएको थियो ।

सो प्रस्ताव निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गर्नुभयो । यसअघि एमालेकी सांसद कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा नदिई बैठक सूचारु हुन नदिने अडान राख्नु भएको थियो ।

उहाँले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षडयन्त्रविरुद्ध उभिनु परेको पनि पटकपटक दोहोर्‍याउनु भयो ।

एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले राष्ट्रियसभाका पूर्व सांसद रुक्मशमशेर राणाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । यही भदौ २६ गते काठमाडौंमा निधन हुनु भएका उहाँ २०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनित हुनु भएको थियो । राष्ट्रियसभाको अर्को बैठक आगामी बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।