
काठमाडौं । संयुक्त राष्ट्र संघले अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको चेतावनी दिँदै त्यहाँ सहयोग उपलब्ध गराउन ६० करोड अमेरिकी डलर संकलन गर्न खोजेको छ ।
राष्ट्र संघले सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गर्न लागेको छ । गत महिना तालिबानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको थियो । अफगानहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्यसेवा, सुरक्षित पानी र सरसफाइ चाहिएको राष्ट संघले भनेको छ ।
साठी करोड डलर उपलब्ध भए दशौँ लाख मानिसलाई राहत पुग्ने उसले जनाएको छ ।
अहिलेको राजनीतिक परिवर्तनपछि उनीहरूको जोखिम झन् बढेको जनाउँदै राष्ट्र संघले एउटा विज्ञप्तिमार्फत नगद अभाव हुँदा अर्थतन्त्र बिस्तारै रोकिने अवस्थामा पुगेको र महिला र बालिकाको अधिकारबारे चिन्ता बढेको जनाएको छ ।
अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै राष्ट्र संघले तालिबानलाई सहयताकर्मीलाई नरोक्न आह्वान गरेको छ । अतिवादी तालिबान लडाकुहरूले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो वासस्थानबाट विस्थापित भएका थिए । सोमवारको सम्मेलनमा राष्ट्रसङ्घका शीर्ष अधिकारीहरू तथा रेड क्रसजस्ता सहायता प्रदान गर्ने संस्था र विभिन्न देशका सरकारका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
राष्ट्रसङ्घले सङ्कलन गर्न खोजेको रकमको एकतिहाइ भाग विश्व खाद्य कार्यक्रमलाई उपलब्ध गराइनेछ ।
प्रतिक्रिया दिनुहोस्