
झापा, भदौ २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विरुद्ध षड्यन्त्र गरिएकाले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्नु परेको स्पष्टिकरण दिनु भएको छ ।
एमाले झापाले बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सभामुख अग्नि प्रसाद सापकोटाले निष्पक्षता कायम गर्न नसकेको आरोप लगाउनुभयो ।
चलिरहेको संसद अधिवेशन मध्यरातमा अन्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याइएको र सभामुखले पार्टीको कार्यकर्ता झैं गरेर समर्थन गरेकाले संसद अवरुद्ध गरेको ओलीले बताउनुभयो ।
उहाँले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गर्नु भएका नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक कटाक्ष गर्नुभयो । चोइटिएर गएको माधव नेपाल समूहले आगामी निर्वाचनमा वडा सदस्य समेत नजित्ने ओलीको दाबी छ ।
माधव नेपालले प्रधानमन्त्री हुँदा काम गर्न सक्दिनँ भनेर हिडेको अहिले भने पदकै लागि एमाले टुक्र्याएको आरोप ओलीको थियो । उहाँले प्रचण्डलाई भने छट्टु नेताको संज्ञा दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्