२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


गुणस्तरीय शिक्षाका लागि सरकारले कार्यक्रमहरु गरिरहेको छ : प्रधानमन्त्री देउवा


0
Shares

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको पनि बताउनु भयो ।

जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यामिक विद्यालय भवनको बुधबार एक कार्यक्रममा बीच उद्घाटन गर्दै उहाँले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै अवको सम्पूर्ण ध्यान त्यहाँको गुणस्तरीय शिक्षामै केन्द्रित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले सो विद्यालय भवन निर्माणका लागि सहयोग गरेकोमा जापान सरकारप्रति पनि आभार व्यक्त गर्नु भयो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले सो विद्यालयले दृष्टिबिहीन बालबालिकाहरुको पठनपाठन गराउँदै आएकोमा खुसी समेत व्यक्त गर्नु भयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मुलुकको शैक्षिक, सामाजिक तथा आर्थिक क्षेत्र निर्वाध रुपले संचालन हुने गरी सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी रुपले अघि बढाईरहेको दावी गर्नुभयो । उहाँले भूकम्पको महाविपत्तिले पुनर्निर्माणको कामलाई अघि बढाउन र कोरोनाको विपद्ले सूचना प्रविधि क्षेत्रको विकासमा लाग्न ठूलो पाठ सिकाएको पनि स्मरण गराउनु भयो ।

मन्त्री भुसालले सो भवन निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराएकोमा जापान सरकारलाई धन्यवाद दिनु भयो । जाईकाको आर्थिक सहयोगमा निर्माण गरिएको मुख्य शैक्षिक भवन २५ कोठाको रहेको छ भने २ वटा साना भवनमा दृष्टिबिहीन बालबालिकाको पठनपाठन हुनेछ ।