
कैलाली, भदौ ३० । नेकपा एमालेका नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउनुभयो ।
अध्यक्ष ओलीले स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठक तथा हामीलाई बोलाएर एकीकरणसहितको नेकपा एमाले भएकाले सुदूरपश्चिमको इन्चार्जमा लेखराज भट्ट, अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावल रहेको बताउनुभयो ।
नेता भट्टले रावल र आफुबीच कुनै खालको मतभेद नरहेको दावी गर्नुभयो । एमाले सदूरपश्चिम इन्चार्जको विषयलाई लिएर पार्टी भित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला उनले विवाद नभएको जिकिर गर्नुभयो ।
भट्टले सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भएको उल्लेख गर्नु भयो । एमालेले पार्टीका १४ जना सांसदलाई गरेको कारवाही अगाडि नबढाएर सभामुखले प्रचण्डको कार्यकर्ताका रूपमा काम गरेको आरोप लगाउँदै माफी नमाग्दासम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्