
काठमाडौं, भदौ ३० । नेपाल–भारत रेल्वे सम्झौता भएसँगै पहिलो पटक वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ ।
बुधबार हिन्द टर्मिनल प्रालिको भारतीय रेल सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो ।
२००४ सालमा नेपाल–भारत रेल सम्झौता भए पनि यसले पूर्णता पाएको थिएन । सम्झौतामा दुई पक्षीयबाट केही संशोधन गरेपछि यो कार्यान्वयनमा आएको निर्देशक गजुरेलले बताउनुभयो । योसँगै नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ । अब सामुद्रिक बन्दरगाहसम्म नेपाली रेलको पहुँच हुनेछ ।
सम्झौतामा नेपाल आउने वस्तु जुनसुकै कार्गो रेलबाट आपूर्ति हुने छ । हाल भारतको सरकारी कम्पनी कन्टेनर कर्पोरेसन इन्डिया लिमिटेडबाट मात्रै सामान ल्याउन पाइन्थ्यो ।
नेपालको रेल पनि सिधै कोलकत्ताको हल्दिया पोर्टसम्म जान सक्नेछन् र नेपाली रेलले नै सामान बोकेर सिधै नेपाल आउन सक्ने छन् । त्यस्तै कलकत्ताबाट विराटनगरसम्म सिधै रेलमा सामान आउन सक्नेछ भने अन्य प्रशासनिक विषयवस्तु पनि सहजीकरण गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्