
काठमाडौं, भदौ ३० । नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि ५ करोड अमेरिकी डलर अर्थात् करिब पाँच अर्ब ८७ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो ।
बुधबार अर्थ मन्त्रालयमा उक्त समझदारी भएको हो । समझारीपत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी तथा नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसले हस्ताक्षर गर्नुभएको हो ।
हस्ताक्षर कार्यक्रममा अर्थसचिव मरासिनीले बैंकले दिने वित्तीय सहयोगले नेपाललाई परेको वित्तीय आवश्यकताको परिपूर्ति गर्ने बताउनुभयो । उहाँले विशेषगरी कोभिड–१९ महामारीपछि विद्यालय र स्वास्थ्य क्षेत्रको सुधार गर्न विश्व बैंकले गर्ने वित्तीय सहयोग प्रभावकारी हुने बताउनुभयो ।
यस्तै विद्यालय क्षेत्र सुधार कार्यक्रमले सबल मानव पूँजी विकास गर्नका लागि उत्प्रेरकको काम गर्ने विश्वास गरिएको छ । विश्व बैंकले दिने ऋण सहयोगले नेपालको विपन्न वर्गलाई लक्षित गरी छात्रवृत्ति दिई शिक्षामा सबैको पहुँचलाई सुनिश्चितता गर्न मद्दत पुग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्