२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रतिवादमा उत्रनुपर्ने अवस्थामा नपुर्‍याउन सरकारलाई केपी ओलीको चेतावनी

शाक्यलाई प्रश्न– माधव नेपाललाई फेरि पार्टी फुटाउन भित्र्याउने ?

0
Shares

काठमाडौं, भदौं ३१ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिवादमा उत्रने अवस्था नआओस् भन्दै सरकारलाई चेतावनी दिनुभएको छ ।

बिहीबार काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन चेतावनी दिँदै आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको दाबी गर्नुभयो ।

नयाँ सरकारले शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, जनतालाई उत्तेजित नबनाऊ, नजिस्काऊ । शान्तिपूर्ण आन्दोलनको सीमाभित्र रहन चाहन्छन् जनता, प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊ ।’

जबकी ओली प्रधानमन्त्री रहेका बेला इनफ इज इनफ भन्दै सडकमा उत्रिएका युवाका साथै बालुवाटारदेखि माइतीघरमण्डल, बानेश्वर क्षेत्रमा गरिएका प्रदर्शनमा दमन भएको भन्दै ठूलो आलोचना भएको थियो ।

आमजनताले आफ्ना असन्तुष्टी र मागहरुबारे ध्यानाकर्षण गराउने थलो माइतीघरमण्डलमै प्रदर्शन गर्न नपाउने आदेश जारी गरेपछि त्यसविरुद्धमा अदालतमै गएर उक्त थलो नागरिकले फर्काएका थिए ।

यसैबीच, माधव नेपाललाई अब कुनै हालतमा पार्टीमा नफर्काउने भन्दै ओलीले प्रश्न गर्नुभयो, ‘अझै पनि हाम्रा केही कमरेडले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि किन आउने ? फेरि पार्टी फुटाउन ? माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन । पार्टीमा छउन्जेल माधव नेपालले कहिल्यै पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो ?’

त्यसअघि, नेपालनिकट मानिने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालले लिएको बाटो गलत भएकाले एमालेमै फर्किन आग्रह गर्नुभएको थियो । तर ओलीले शाक्यलाई जवाफ फर्काउँदै उक्त कुरा बताउनुभएको हो ।

शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्न, जालझेल नगर्न नेतृत्वको ध्यानकर्षण गराउँदै भन्नुभयो, ‘त्यसमा जालझेल आवश्यक छैन । २०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं ।’

नेपालले साढे तीन वर्षसम्म पार्टीमा गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने बाहेक कुनै काम नगरेको आरोप लगाउँदै ओलीले एमालेलाई सिध्याउन विपक्षीसँग साँठगाठ गरेको आक्षेप लगाउनुभयो ।

अर्को प्रसंगमा उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिलाउँदै गएको टिप्पणी गर्दै भन्नुभयो, ‘प्रचण्डरूपी यत्रो जहाज उडेको, अलिक पर जाँदा विस्तारै देख्न छोडिन्छ ।’