३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


उपत्यकामा ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप


0
Shares

काठमाडौं, असोज १ । काठमाडौं उपत्यकाको ४० प्रतिशत जनसङ्ख्याले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा पहिलो मात्रा खोप ४४.३३ प्रतिशतले लगाएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ६० लाख ५७ हजार एक सय ९४ र पूर्ण मात्रा ५४ लाख ७३ हजार एक सय ५१ जनाले लगाएका छन् । सरकारले गत माघदेखि खोप लगाउन सुरु गरेयता एक करोड बढी नागरिकले खोप लगाएका छन् ।

देशभर कोभिसिल्डको पहिलो मात्रा २४ लाख ९३ हजार तीन सय ३३ र दोस्रो मात्रा १४ लाख ४५ हजार तीन सय ५१ जनाले लगाइसकेका छन् । यस्तै भेरोसेल पहिलो मात्रा ३५ लाख ६३ हजार आठ सय ६१ र दोस्रो मात्रा २६ लाख २७ हजार ६ सय ५५ जना तथा जोन्सन एन्ड जोन्सन १४ लाख एक सय ४५ जनाले लगाइसकेका छन् ।

भदौ महिनामा सबभन्दा बढी पहिलो मात्रा भदौ ३० गते दुई लाख ९९ हजार एक सय ३१ जनाले लगाएका थिए । सरकारले १८ वर्षभन्दा माथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ ।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाउने जनाएको छ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने सरकारको तयारी छ ।