२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


पदक पाउने पत्रकार र वकीलप्रति ओलीको आक्रोश, विभूषण र मान पदवीले नै लाज मानेको भन्दै व्यंग्य


0
Shares

काठमााडौं, ३ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले घोषणा गरेको पदकमा नाम परेका पत्रकार र कानुन व्यवसायीहरुप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

आइतबार एमालेले आयोजना गरेको संविधान दिवस कार्यक्रममा सरकारले वितरण गरेका विभूषण, मानपदवी पाउनेहरुप्रति व्यंग्य गर्दै अघिल्लो सरकारको विपक्षमा खोइरो खन्ने पत्रकार र कानुनव्यवसायीलाई पदक बाँडिएको भन्दै कटाक्ष गर्नुभएको हो ।

ओलीको भनाइ थियो, ‘अघिल्लो सरकार जो लोकप्रिय थियो, विकास प्रेमी थियो त्यस सरकारको विपक्षमा खोइरो खनेर एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठीक बेठीक समाचार दिएर देशलाई भड्खालोमा हाल्न खोज्ने सञ्चार माध्यम र तिनका साहुहरू ठूल्ठूला पदकले सम्मानित भए । कमसेकम खोज पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा, लोकतन्त्रको पक्षमा धर्म निर्वाह गर्ने पत्रकारलाई सम्मानित गरेको भए हुन्थ्यो नि !’

अधिवक्ता तथा न्यायाधीशहरूलाई सम्मान दिइएको विषयको निर्मम मूल्यांकन गर्ने चेतावनी दिँदै उहाँको थप टिप्पणी थियो, ‘झगडियाहरु सम्मानित, मुद्दा हाल्ने सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरू सम्मानित । दुई चार जना छुटेको जस्तो लाग्यो नाम भन्दिनँ । तिनलाई किन छोडेको होला ? मुद्दा हराइदिने, जिताइदिने, तराजु कोल्टे फर्काइदिनेहरुलाई पदक । तराजुपनि गजब रहेछ । आँखामा पट्टी बाँध्ने श्रीमानहरूले तराजु कता ढल्किएको छ त्यो त थाहा हुन्छ नि । हात त बाँधेको हुँदैन । कतापट्टि के फैसला गरिदिनुपर्ने छ, कतातिर के फैसला गरिदिनुपर्ने छ । म धेरै भनिरहन चाहन्न । धेरैका लागि यो लज्जाजनक विषय हो । इतिहासले यसको निर्मम मूल्याङ्कन गर्नेछ ।’

बाउलाई, श्रीमतीलाई सम्मान दिइएको भन्दै अध्यक्ष ओलीले शहीद, वेपत्ता परिवार, घाइतेहरुलाई सम्मान नगरिएकामा सरकारको कटू आलोचना गर्दै भन्नुभयो, ‘आज बाउको मुख हेर्ने दिन हो, श्रीमतीको अनुहार हेर्ने दिन हो ? शहीद, शहीदको परिवार सम्झनुपर्दैन ? बाहिर बाहिर हामीलाई केही चाहिँदैन, पद चाहिँदैन भन्ने आज हेर त ।’

सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बाबुलाई दिइएको पदकप्रति आपत्ति जनाउने क्रममा यस्तो टिप्पणी गर्नुभएको हो ।

संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेको मान पदवीमा दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री र नेपालका पिता मंगलप्रसाद उपाध्यायलाई मरणोप्रान्त सुप्रसिद्ध प्रबल जनसेवाश्री विभूषण दिने निर्णय गरेको थियो ।

दिइएको व्यक्तिलाई हेर्दा पदक आफैले लज्जा मानिरहेको भन्दै ओलीले थप्नुभयो, ‘बोल्न सक्ने भए उफ्रिन्थे होला, कस्ताको गलामा झुण्डिनु पर्‍यो भनेर ।’ सरकारले संविधान दिवसका अवसरमा ९०३ जनालाई पदक दिने निर्णय गरेको छ ।