
काठमाडौं, असोज ४ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताउनुभएको छ ।
बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबार काठमाडौंको माइतीघरमा गरेको दबावमुलक धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको काम ८ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्नु लज्जास्पद भएको बताउनुभएको हो ।
उहाँले आफु प्रधानमन्त्री हुँदा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरि विकास समिति बनाएर मुआब्जा वितरणको प्रक्रिया शुरु गरे पनि विचौलियाका कारण काम नहुनु दुखद भएको बताउनुभयो ।
सरोकार समितिका संयोजक हरेराम ढकालले आयोजनाले डुबान क्षेत्रको व्यक्तिगत जग्गाको मुआब्जा मात्र दिएको तर जग्गामा बनेको घर, संरचनालगायतका सम्पत्तिको लेखाजोखा नै नगरेको भन्दै सच्याउन माग गर्नुभयो ।
उहाँले आफुहरुको माग सरकारले पुरा नगरे आगामी दिनमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्