२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्व बैकसँग थप सहयोगको आवश्यकता : अर्थमन्त्री शर्मा


0
Shares

काठमाडौं, असोज ४ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याउनुभएको छ ।

सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री शर्माले कोभिड–१९ संक्रमणको समयमा बैंकले आपतकालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको भन्दै विश्व बैकलाई धन्यवाद समेत दिनुभयो ।

सो अवसरमा अर्थमन्त्रीले नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

भेटका अवसरमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध समेत गर्नु भएको छ ।

भेटमा बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गर्नुभयो । उहाँले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।