
विराटनगर, पुस ९ । प्रदेश नम्बर १ सरकारले नेपाल भ्रमण वर्ष २०२० को विशेष कार्यक्रम आयोजना गरी शुभारम्भ गर्ने भएको छ ।
पुस १६ गते सन् २०२० जनवरी १ का दिन भब्य उद्घाटन सभा गर्ने तयारी भइरहेको प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले जनाएको छ ।
मूल समारोह व्यवस्थापन उपसमितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी दश हजारको उपस्थितिमा नेपाल भ्रमण वर्ष सुरु भएको घोषणा गर्ने तयारी रहेको जनाएको हो ।
सरकारले प्रवद्र्धनका लागि पहिचान गरेका सय वटा मुख्य पर्यटकीय गन्तव्य मध्ये प्रदेश १ मा १६ वटा रहेका छन् । ती गन्तव्य स्थलसम्म पर्यटकहरुलाई पुर्याउन र त्यसका विषयमा जानकारी दिन उद्घाटन स्थलमा स्टल स्थापना गरेरै जानकारी गराउने तयारी रहेको प्रवद्र्धन समितिले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संरक्षक र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अध्यक्ष रहेको ५१ सदस्यीय समिति गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्