२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पर्यटन प्रवर्धनका लागि मुख्यमन्त्री राउत नेतृत्वको टोली पोखरामा


0
Shares

पोखरा, असोज ६ । पोखरा–सिमरा सीधा हवाई उडान शुरु भएसँगै पर्यटन प्रवद्र्धनका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वको टोली पोखरा पुगेको छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) प्रदेश नम्बर एक र दुईको संयोजनमा कोभिडबाट पर्यटन क्षेत्र जागरुक बनेको सन्देश दिन भ्रमण आदानप्रदान शुरु गरिएको आयोजकले बताएका छन् ।

यसअघि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री सहितको टोलीले प्रदेश नं २ को सिमरा, बीरगञ्ज लगायतका स्थानमा अवलोकन भ्रमण गरेको थियो । गण्डकी प्रदेशको सोही उच्चस्तरीय टोलीले प्रदेशका दुई नम्बर प्रदेशका मुख्यमन्त्री सहितको टोलीलाई पोखरा भ्रमणका लागि निम्तो दिएको थियो ।

पोखरा पुगेको मुख्यमन्त्री राउत सहितको टोलीलाई प्रदेश सरकारका मन्त्री र पर्यटन व्यवसायीले स्वागत गरेका थिए । सञ्चारकर्मीसँगको भेटमा मुख्यमन्त्री राउतले कोरोनाले थलिएको पर्यटन पुनरुत्थान गर्नु अहिलेको आवश्यकता भएको बताउँदै आन्तरिक पर्यटन चलायमान गराउन गण्डकी प्रदेशसँग सहकार्य गरिने बताउनुभयो ।

राउतले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेटवार्ताका साथै पोखराका पर्यटकीय स्थलको अवलोकन, सरोकारवालाबीच छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।