
काठमाडौं, पुस १० । एक युवतीलाई भारतमा बलीका लागि बेच्न खोजेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले सात जनालाई पक्राउ गरी आज (बिहीबार) सार्वजनिक गरेको छ ।
आफुलाई मोडल बताउने एक युवतीको उजुरीको आधारमा प्रहरीले २४ बर्षिया दिलकुमारी बुढामगर, ३५ बर्षिय उमेशकुमार माझी, ५१ बर्षिय दिलिप पोद्दार, २६ वर्षिय कृष्ण तामाङ, ४० वर्षिय उमेश साह , ३७ वर्षिय रञ्जित चौधरी र २३ वर्षिया प्रेमा तामङ्गलाई सार्वजनिक गरेको हो ।
प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरु मध्ये पाँच जनालाई विराटनगर र दुई जना काठमाडौंबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट एक लाख नौ हजार रुपैयाँ नगद, मोबाइल, विभिन्न बैकका नौ लाख रुपैयाँ बराबरका चेक र एटीएम कार्ड र तान्त्रीक पुजाका सामग्रीहरु बरामद गरिएको पनि जनाइएको छ ।
मोडलिङ सम्बन्धी कार्यक्रमका लागि लैजाने भने पनि असम्बन्धित शंकास्पद प्रश्नहरु गरेको भन्दै पीडित भनिएकी युवतीले उजुरी दिएको जनाइएको छ ।
पत्रकार सम्मेलनमा आरोपीहरुले भने आफुहरु विरुद्ध लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएका थिए ।
त्यसपछि उनीहरुलाई हतार हतार हिरासतमा लगिएको थियो । सोही पत्रकार सम्मेलनमा ५२ लाख ८७ हजार रुपैयाँ बराबरको भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पनि सार्वजनिक गरिएको थियो ।
स्वयम्भूस्थित हरिबहादुर श्रेष्ठको घरमा खान तलासी गरेर ठूलो परिमाणमा बिभिन्न कम्पनिका मोबाइल, ल्यापटप, आइ प्याड, घडी, क्यमेरा लेन्सलगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने नौ जनाको गिरोहलाई पनि सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्