
काठमाडौं, असोज ७ । सरकारले पर्यटकका लागि शर्तसहित अनअराइभल भिसा खुला गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै नयाँ व्यवस्थाबारे जानकारी गराएको हो ।
शर्तसहित अनअराइभल भिसा खुलेसँगै नजिकिएको पर्यटन सिजनमा नेपाल आउन चाहने विदेशी पर्यटकलाई सहज हुने भएको हो । नेपालको कानून अनुसार विदेशी नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा अनअराइभल भिसा (आगमन विन्दुमै भिसा) दिइने छ ।
यसक्रममा पर्यटकले भिसाका लागि आवश्यक कागजातसहित कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन कटेको प्रमाण पेस गर्नुपर्ने छ । यात्रुको साथमा हवाई उडानको चेकइन हुनुभन्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको रिपोर्ट समेत अनिवार्य हुनुपर्छ ।
पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमति समेत देखाउनु पर्ने व्यवस्था गरिएको छ । पर्यटकले नेपालमा होटेल बुक गरेको प्रमाण समेत साथमा बोक्नु पर्नेछ । अनअराइभल भिसा नलिई सम्बन्धित मुलुकको नेपाली नियोगबाट भिसा लिएर नेपाल आउन चाहने पर्यटकको हकमा समेत कोभिड–१९ विरुद्धको खोपको मात्रा भने पूरा गरेको हुनुपर्ने सर्त राखिएको छ । यसबाहेकका अन्य सर्त यथावत हुने गरी तोकिएको छ ।
खोपको मात्रा पूरा नगरेका विदेशी नागरिकले भने सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाटै भिसा लिनु पर्नेछ । साथमा उनीहरुलाई एजेन्सीमार्फत मात्र भ्रमणको अनुमति दिइने छ । पूर्ण खोप प्राप्त नगरी नेपाल आएका पर्यटकले भने १० दिन अनिवार्य होटेल क्वारेन्टिन समेत बस्नु पर्नेछ । ११ औं दिनमा कोभिड परीक्षण गरी उनीहरु गन्तव्यमा जान सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्