
काठमाडौं, असोज ७ । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाहमा १८ प्रतिशतले कमी आएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याकं अनुसार विप्रेषण आप्रवाह १८ दशमलव १ प्रतिशतले कमी आई ७५ अर्ब ९६ करोड कायम भएको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमल ० प्रतिशतले बढेको थियो । यस्तै यसै अवधीमा कुल वस्तु व्यापार घाटा ७० दशमलव ६ प्रतिशतले वृद्धि भई १ खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२ दशमलव २ प्रतिशतले घटेको थियो ।
यस अवधीमा निर्यात र आयात दुवैमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु निर्यात ११५ प्रतिशतले वृद्धि भई २० अर्ब ७६ करोड पुगेको छ । आयातमा ७५ प्रतिशतले वृद्धि भई १ खर्ब ५० अर्ब बराबरको वस्तु आयात भएको नेपाल राष्ट्र बैंकको तथ्याकं छ ।
गत वर्ष निर्यात ८ प्रतिशतले वृद्धि भएको थियो भने आयातमा १९ दशमलव ६ प्रतिशतले कमी आएको थियो । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन लगायतका वस्तुको आयात बढेको छ ।
२०७८ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस अवधिमा चालु खाता ४७ अर्ब ९० करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २४ अर्ब ८९ करोडले बचतमा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्