
बैतडी, असोज ७ । व्यापारी हत्याको आशंकामा बैतडीमा प्रहरीले दुई व्यापारीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान सुर्नया गाउँपालिका ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौंमा मासु पसल व्यवसाय गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा मृत फेला परेका थिए । मृतक कमलसिंहको टाउको, छाती र शरिरका अन्य भागमा चोट रहेकोले हत्याको आशंका गरिएको छ ।
घटनामा संलग्न रहेको आशंकामा ७ जनालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएकोमा घटनास्थल कार्य सकेर फर्किएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
मदिराका कारण हत्या भएको प्रारम्भिक रिपोर्टले देखाएको छ । टाउको, छाती, खुट्टा र शरिरका अन्य भागमा घाउका साथै निलडाम रहेकाले सामूहिक हत्या भएको प्रहरी स्रोतले जनाएको छ ।
घटना भएको ठाउँबाट कमलको घर सय दुई मिटरको दुरीमा मात्रै रहेको छ । तर सबै घर नजाने भएकोले बुधबार बेलुका घरपरिवारले पसलमै सुतेको भनेर खोजतलास नगरेको बताइएको छ । कमलले सन्सेरीमाडौंमा मासु पसल सञ्चालन गरेका थिए ।
घटनामा संलग्न रहेको आशंकामा दुई व्यापारीसहित सात जनालाई नियन्त्रणमा लिएको छ । उनीहरु सबैजना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेको छन् ।
प्रहरीले भने घटनाबारे अहिले सबै कुरा सार्वजनिक गर्न नमिल्ने जनाएको छ । घटनाको सुक्ष्म रुपमा अनुसन्धान भइरहेकोले छिट्टै सार्वजनिक गरिने प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
महराको घरमा श्रीमती, दुई छोरा, एक बुहारी र २ नातिनी रहेका छन् । मृतकका जेठा छोरा मानसिक सन्तुलन ठिक नभएकोमा घरमै रहेका र कान्छा छोरा वैदेशिक रोजगारीको लागि साउदी अरेवियामा रहेका स्थानीय बासिन्दाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्