
दिपक श्रेष्ठ
काठमाडौं, असोज ७ । नजिकिँदो दशैं तिहार लक्षित गरी ट्राफिक प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ ।
जस अन्तर्गत स्वास्थ्य सुरक्षा, टिकटमा कालोबजारी नियन्त्रण र चेकजाँच गरी यात्रुलाई सकुशल गन्तव्य पु¥याउने लगायत विषय छन् । सुरक्षित यात्राका लागि काठमाडौंमा दैनिक ४३ वटा ट्राफिक युनिट र १४ वटा यात्रु सहायता कक्ष सक्रिय हुनेछन् । प्रहरीकाअनुसार युनिटले दैनिक चार पटक र नाकाहरुमा २४ सै घण्टा चेकजाँच हुने छ ।
बसपार्क, टिकट काउण्टर, यात्रु प्रतिक्षालयजस्ता भिडभाड हुने ठाउँलाई प्रहरीले विशेष निगरानीमा राख्नेछ । यात्राको क्रममा कोभिड संक्रमणको जोखिम कम गर्न सुरक्षा मापदण्ड प्रभावकारी बनाउने ध्याउन्नमा प्रहरी लागेको छ । लामो दूरीका सवारी साधनमा अनिवार्य दुईजना चालक व्यवस्था गर्ने, मादक पदार्थ सेवन विरुद्ध कडाई गर्ने उसको योजना छ । त्यसबाहेक बढी भाडा लिने, नाइटभिजन लेजर राडारमार्फत गाडीको गति नियन्त्रणमा लिइनेछ ।
खुल्लामञ्चको बसपार्क बन्द भएपछि उपत्यकामा भाडाको सवारी साधनको व्यवस्थापन ट्राफिक प्रहरीका लागि थप कठिन बन्दै गइरहेको छ । यस अवस्थामा लामो दूरीका सवारी साधनको व्यवस्थापन प्रहरीका लागि थप टाउको दुखाईको विषय बनेको छ । यद्यपि समयतालिका बनाएर सहज बनाउने प्रहरी बताउँछ । भीडभाड हुने ठाउँको मौका उठाएर पैसा, गहना चोरीका घटना बढ्ने हुनाले त्यसतर्फ सचेत हुन प्रहरीले सर्वसाधारणलाई अपिल गरेको छ ।
वर्षैपिच्छे प्रहरीले ल्याउने यस्ता सुरक्षा योजना कर्मकाण्डी हुने गरेको टिप्पणी बाक्लै सुनिन्छ । योजना ल्याउने प्रहरी नै प्रलोभनमा परी सुरक्षा योजना आलोचित नभएको पनि होइन । त्यसैले सचेत यात्रु , कर्तव्यपरायण व्यवसायी र राजहाँस प्रहरी भएमात्र यस्ता योजनाको औचित्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस्