
काठमाडौं, असोज ८ । त्रिवि क्रिकेट मैदान । नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट खेल हुने एकमात्र मैदान हो ।
यो मैदानमा अन्तराष्ट्रिय स्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो । त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवान्यूगिनी बीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन । जसकारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तराष्ट्रिय खेल हुन पुग्यो ।
त्यसयता यो मैदान अन्तराष्ट्रिय, राष्ट्रिय र स्थानीय खेलहरु खेल्ने एकमात्र मैदान बनेको छ । नेपालले क्रिकेटको क्षेत्रमा उल्लेख्य प्रगती गरिरहेको छ । तर अन्तराष्ट्रिय स्तरको खेल मैदान हुन नसक्दा खेलाडीहरुले चाहेजति अभ्यास गर्न सकेका छैनन् ।
एउटा मात्र अन्तराष्ट्रिय स्तरको रंगशालाका कारण नेपाली खेलाडीहरुलाई विदेशमा गएर म्याच खेल्न पनि सकस परिरहेको स्वयं खेलाडीहरुले नै बेलाबेला बताउने गरेका छन् । नेपालले सन् १९८८ मा अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट एशोसिएट सदस्यता पाएको थियो । हालसम्म आइपुग्दा नेपाल टी–२० वरियतामा विश्वमा १३ औं स्थानमा छ भने एकदिवसीयमा १६ औं स्थानमा छ ।
नेपालमा त्रिभुवन क्रिकेट मैदान बाहेकका अन्य ३ वटा मैदान भए म्याच खेलाउन, खेलाडीहरुलाई अनुभव बटुल्न र अभ्यास गर्ने कुरामा धेरै सहयोग हुने टियू क्रिकेट मैदानका क्युरेटर मधु तामाङले बताउनुभयो । उहाँले एउटै क्रिकेट पिचमा खेल्दा एक,दुई वटा खेलपछि नराम्रो असर पर्ने समस्या रहेको भन्दै अन्य अन्तराष्ट्रिय स्तरका क्रिकेट मैदान बनाउनुपर्ने जोड दिनुभयो ।
त्रिवि क्रिकेट मैदानमा म्याच गराउनका लागि अहिले तीन वटा पिच रहेका छन्, जसमा हरेक म्याचमा पालैपालो म्याच गराइनेछ, इपीएलको लागि मैदान तयार भइसकेको छ । नेपालले सन् १९९८ मा एसीसी ट्रफीको आयोजना गर्ने अवसर पाएको थियो ।
त्यसका लागि अन्तर्राष्ट्रिय स्तरको मैदान आवश्यक पर्ने भएपछि सन् १९९६ मा भारतको जीस्पोर्टस कम्पनीसँग मैदान बनाउन सम्झौता गरेको थियो । सम्झौता अनुसार सानो फुटबल मैदानलाई जीस्पोर्ट्सले अन्तराष्ट्रिय क्रिकेट मैदान बनाइदिएको थियो ।
प्रतिक्रिया दिनुहोस्