
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना (कोभिड–१९) को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ ।
वाल स्ट्रीट जर्नलको रिपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकको एउटा टोलीलाई यसबारे थप नयाँ प्रमाण खोज्नका लागि भेला गर्दैछ ।
उक्त रिपोर्टअनुसार कोभिड–१९ को उत्पत्ति बारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अपर्याप्त छ । रिपोर्टमा वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरू समेत सम्मिलित छन् । उनीहरूले कोरोना भाइरस प्रयोगशालाबाट बाहिरएको हो वा होइन भन्ने विषयमा गम्भीर अध्ययन–अनुसन्धान गर्ने भनिएको छ ।
नयाँ अध्ययनले यस किसिमका भाइरस संक्रमणको भविष्यमा हुनसक्ने जोखिमलाई समेत केन्द्रमा राखेर प्रतिवेदन तयार पार्नेछ । यसअघि अगस्टमा अमेरिकाले कोभिड भाइरसको उत्पत्ति बारे एउटा रिपोर्ट जारी गरेको थियो ।
उक्त रिपोर्टलाई बेइजिङले पूर्णरूपमा राजनीतिक भएको र कुनै वैज्ञानिकता र विश्वसनीयता नभएको भन्दै अस्वीकार गरेको थियो । अमेरिकी गुप्तचर निकाय अझै पनि यस भाइरसको उत्पत्ति प्रयोगशालाबाट भएको हो वा जनावरबाट मानिसमा सरेको होे भन्ने बारे विभाजित छ ।
प्रतिक्रिया दिनुहोस्