
काठमाडौं, असोज ११ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिनु भएको छ ।
संसदलाई २/२ पटक विघटन गर्ने एमालेलाई संसदमा आउनसमेत लाज हुनुपर्ने उहाँको टिप्पणी छ । प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा डाक्टर भट्टराईले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिनुभयो । सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको उहाँको भनाइ थियो ।
त्यसैगरि नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले सभामुख सापकोटाले माधवकुमार नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गराउनु पर्ने एमालेको माग सम्बोधन गर्न नसक्ने बताउनु भएको छ । उहाँले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुखले सांसदहरुलाई पदमुक्त गर्न नसक्ने जिकिर गर्नुभयो ।
महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्