२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नुवाकोट कांग्रेसमा पौडेल–देउवाभन्दा जिल्लाकै समूह हाबी, महत दाजुभाइ र बहादुर एकातिर हुँदा केसी एक्लैको पचास प्रतिशत

नेपाली कांग्रेस १४ औं महाधिवेशन

0
Shares

congress, nuwakot

नुवाकोट, असोज १२ । नेपाली कांग्रेस नुवाकोटमा पालिकास्तरको अधिवेशनसकिँदा केन्द्रीय गूटभन्दा जिल्लाभित्रको राजनीतिक समीकरणले नै महत्वपूर्ण भूमिका खेलेको देखिएको छ ।

देशभर संस्थापन पार्टी सभापति शेरबहादुर देउवा र संस्थापनईतर रामचन्द्र पौडेल पक्षका रुपमा विभाजित भइरहेका बेला नुवाकोटमा भने त्योभन्दा भिन्न तस्वीर देखिएको हो । केन्द्रमा पौडेल पक्षमा रहेका जिल्लाका दुई प्रभावशाली नेता अर्जुननरसिंह केसी र डा. रामशरण महत जिल्लामा भने अलग अलग समूहमा देखिनुभएको हो ।

सँधै झैं यस पटक पनि नुवाकोट कांग्रेसमा एकातिर केसी पक्ष एक्लै र अर्कातिर डा. महत, उहाँकै भाइ प्रकाशशरण महत र बहादुर सिंह लामा उभिएका हुन् ।

जिल्लाको सबै १२ नगर/गाउँ पालिकाको परिणाम आउँदा केन्द्रको देउवा–पौडेल गूटीय प्रभावले काम गरेको देखिएन । बरु अघिल्ला अधिवेशन र पार्टी गतिविधिझै यस पटक पनि महत दाजुभाइ र लामा पक्ष एकातिर उभिँदा केसी एक्लै अर्कातर्फ भएका हुन् ।

केन्द्रीय नेतृत्वका आधारमा हेर्ने हो भने नुवाकोटको १२ मध्ये आठ पालिकाका प्रमुख पौडेल पक्षसँग निकट देखिँदा तीन पालिकाका प्रमुख देउवा पक्ष र एउटा पालिकाको प्रमुख भने प्रष्ट नभएको नुवाकोट कांग्रेसका एक पदाधिकारी बताउँछन् ।

नुवाकोटमा केन्द्रीयभन्दा पनि जिल्लाभित्रका प्रभावशाली नेताका आधारमा कांग्रेस राजनीति प्रभावित हुने गरेको र यस पटक पनि त्यस्तै देखिएका जिल्ला सचिव सुरेन्द्र अधिकारी बताउनुहुन्छ । यस पटक पनि केसी पक्ष एकातिर हुँदा अर्कातिर महत दाजुभाइ र लामा पक्ष उभिएको भन्दै अधिकारीले भन्नुभयो, ‘सबै पालिकाको परिणाम आइसक्दा दुबै पक्षमा पचाच/पचास प्रतिशतको स्थिति देखिन्छ । तर जिल्ला नेतृत्वका लागि को उम्मेदवार हुन्छ भन्ने विषयले केही प्रतिशत मत यताउता हुन्छ नै ।’

नुवाकोटको १२ पालिका मध्ये विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, ककनी गाउँपालिका, लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र सूर्यगढी गाउँपालिकामा आफ्नो समर्थन रहेको व्यक्ति पालिका सभापतिमा निर्वाचित भएको केसी पक्षको दावी छ । यी मध्ये दुप्चेश्वर, लिखु र सूर्यगढीमा पालिकास्तरीय समिति सर्वसम्मत चयन भएको थियो ।

यसैगरी मेघाङ गाउँपालिका, किस्पाङ गाउँपालिका, शिवपुरी गाउँपालिका, तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र सूर्यगढी गाउँपालिकामा आफ्नो पक्षको उम्मेदवार सभापति निर्वाचित भएको दावी महत–लामा पक्षले गरेको छ । सूर्यगढीमा दुबै पक्षले दावी गरेका छन् ।

यद्यपि, दुबै पक्षले आफ्नो पक्ष अर्को पक्षभन्दा बढी रहेको दाबी गर्न छाडेको भने छैन । सभापति बन्नका लागि अन्तिम समयमा गूट फेरेर उम्मेदवार बनेकाले पनि जिल्ला सभापति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका समयमा कसका पक्षमा मत दिन्छन् भन्ने अन्यौल केहिमा देखिएको अधिकारीको भनाइ छ ।

नुवाकोट कांग्रेसका एक नेता जिल्लाभित्रको राजनीतिक समीकरण पनि विस्तारै फेरिन खोजेको देखिएको बताउँछन् । उनका अनुसार, यसअघि दाई रामशरण महत निर्णायक हुने गरेको यस समूहमा यस पटकदेखि भाइ प्रकाशशरण महतले उक्त स्थान लिन खोजेको देखिएको छ । दाईको निकट रहेर लाभ लिइरहेका धेरैजसो कांग्रेसीहरु अहिले भाईतिर टासिन पुगेको उनको भनाइ छ ।

महत समूहकै एक नेता भन्छन्, ‘पार्टीको जिल्ला सभापतिमा भतिजा रमेश महतलाई स्वीकारेमा प्रतिनिधि सभाको आउने निर्वाचनमा आफूले लड्दै आएको क्षेत्र भाइलाई छाड्न दाई सहमत भएका छन् । यसै समझदारी अनुसार उक्त समूहबाट भतिजा रमेश कांग्रेस जिल्ला सभापतिका उम्मेदवार निश्चित झै बनेका हुन् ।’

महत–लामा समूहको जिल्ला सभापति निश्चित हुँदा केसी पक्ष भने कसलाई उम्मेदवार बनाउने भन्ने दोधारमा देखिन्छ । यद्यपि, केन्द्रीयस्तरमा बुद्धिजिवी फाँटमा काम गरिरहेका डा. केदारनरसिंह केसी नै उक्त समूहबाट उम्मेदवार बन्न सक्ने अनुमान धेरैले गरेका छन् ।