१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गैंडा तस्करमा संलग्न आठजना पक्राउ


52
Shares

चितवन, असोज १२ । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करको आरोपमा आठ जनालाई पक्राउ गरेको छ ।

निकुञ्ज कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई मंगलबार सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेहरुमा नवलपुरको बुलिङ्टार १ कोटथर घर भई हाल गैंडाकोट नगरपालिका १ बस्ने वर्ष ३२ का चतुरे भन्ने गोपाल सारु रहेका छन् । उनलाई निकुञ्जको आइल्याण्ड क्षेत्रमा २०७७ सालको भाद्र महिनामा गैंडा मारेको अभियोगमा २०७८ को साउन ३२ गते पक्राउ गरिएको हो ।

सोही मुद्दामा २०७८ भदौ ६ गते धादिङ जिल्ला रोराङ १ बस्ने ३५ वर्षीय कवि भन्ने रामकुमार श्रेष्ठलाई पनि सार्वजनिक गरिएको हो ।

यस्तै अन्य पक्राउ पर्नेहरुमा निकुञ्जको बहपुर खोला क्षेत्रमा २०७६ कार्तिकमा गैंडा मारेको आरोपमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका ४ बस्ने वर्ष ३० को विजय भन्ने जय बहादुर प्रजालाई २०७८ सालको भदौ ४ गते पक्राउ गरिएको हो ।

सोही मुद्दामा मकवानपुर मनहरी ४ कै ३६ वर्षीय दिल वहादुर प्रजा भनिने सिँहराम प्रजा र धादिङ जिल्ला बेनिघाट १ कै ३५ वर्षीय कवि भन्ने रामकुमार श्रेष्ठलाई समेत सोही मितिमा पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार निकुञ्जको घाँघर क्षेत्रको बाटुली चौरको खोल्सीमा २०७७ असोजमा गैंडा मारेको आरोपमा मकवानपुर जिल्ला साविक सरिखेत गाउँपालिका ९ बस्ने करण मोक्तान भन्ने करण प्रजा, मनहरी गाउँपालिका वडानम्वर ४ का सुरेश प्रजा र मनहरीकै २७ वर्षीय बाबु भनिने सरोज मोक्तान पनि सोही मुद्दामा पक्राउ परेका छन् ।

त्यस्तै निकुञ्जको घाँघरपोष्टदेखि साँढे १ किलोमिटर पर्ने ढड्डाघारीमा २०७७ जेठमा गैँडा मारेको आरोपमा चितवन माडी नगरपालिका ७ देवेन्द्रपुर वस्ने यादव भन्ने राजन गुरुङ रहेको बरालले बताउनुभयो ।
मंगलबार सार्वजनिक गरिएका ८ जनाले चार वटा गैँडा तस्करमा संलग्न रहेको आरोप छ । सोही घटनाका अन्य ९ जना आरोपिहरु अझै फारार रहेका छन् । चालु आर्थिक वर्षमा गैँडा मुद्दाका मात्रै १४ जना आरोपिहरु पक्राउ परीसकेका छन् । अघिल्लो आर्थिक वर्षमा निकुञ्जले २८ जनालाई पक्राउ गर्न सफल भएको थियो ।