
एजेन्सी, असोज १२ । संसारकै धनी मध्येका एक एलन मस्क र उनकी प्रेमिका ग्राइम्सबीचको सम्बन्ध टुटेको छ ।
पूर्ण पारपाचुकेमा नपुगिसकेका यी दुईको तीन वर्ष लामो सम्बन्ध अर्ध–बिछोडको अवस्थामा रहेको पेज सिक्सले जनाएको हो ।
स्पेस एक्सका संस्थापक तथा धनाढ्यहरुको सूचीमा शीर्ष स्थानमा रहेका एलन मस्कले क्यानेडेली गायिकासँग ‘सेमी सेपरेटेड’ अर्थात् अर्ध–पृथकीकरण भए पनि आफूहरुबीच राम्रै सम्बन्ध रहेको जनाएका हुन् ।
आफ्ना एक वर्षे छोरा एक्स ए एसीलाई मिलेरै हुर्काउने जानकारी दिँदै मस्कले भने, ‘हामी अर्ध पृथकीकरण भएका छौं तर अझै पनि एक–अर्कालाई माया गर्छौं, बारम्बार भेट्न मन पराउँछौं र राम्रो सम्बन्धमा छौं ।’
मस्कले भनेका छन्, ‘स्पेस एक्स र टेस्लाको कामले गर्दा म टेक्ससमा हुनुपर्छ, देश बाहिर पनि यात्रा गरिरहनुपर्छ । उनको काम विशेषगरी लस एन्जल्समा हुन्छ । उनी हाल मसँगै छिन् र बेबी एक्स हामीसँगैको कोठामा छन् ।’
सन् २०१८ देखि सम्बन्धमा रहेका मस्क र ग्राइम्सलाई सन् २०२० को मेमा पुत्र लाभ भएको हो ।
पहिलो श्रीमती लेखक जस्टिन विल्सनपट्टी पाँच छोरा छन् । जसमा जुम्ल्याहा ग्रिफिन र जेभियर, १७, र तिम्ल्याहा डेमियन, स्याक्सन र काई १५ वर्षका छन् ।
त्यसपछि अभिनेत्री तलुलाह रिलेसँग दुई पटक विवाह गरेका उनको दुबै पटक सम्बन्ध टिक्न सकेन । पहिलो पटक सन् २०१० विवाह गरेका उनले दुई वर्षपछि सम्बन्धविच्छेद गरे भने सन् २०१३ मा फेरि विवाह गरे पनि सन् २०१६ मा फेरि सम्बन्धविच्छेद गरेको पेज सिक्सले जनाएको छ ।
यसअघि, विश्वका धनाढ्य माइक्रोसप्टका मालिक बिल गेट्स र पत्नी मेलिण्डा गेट्स, अमेजनका मालिक जेफ बेजोस र म्याकन्जी स्कटको सम्बन्ध बिच्छेदले पनि विश्वको ध्यान तानेको थियो । लामो समय सँगै करियर बनाएका उनीहरुको बिछोडको खबर पनि चर्चित बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्