१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दैनिक उपभोग्य वस्तु सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन


0
Shares

काठमाडौं, असोज १२ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरुलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उक्त निर्देशन दिएको हो । समितिको निर्णय सुनाउँदै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडबाडका बेला कुनै पनि सामग्रीहरु अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिनुभयो ।

उहाँले काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका सिडिओहरुले अनुगमन गर्ने भन्ने कुरा भइरहेकोले यस्तो अनुगमन अन्य जिल्लाहरुमा पनि गराउन उहाँले मन्त्रालयलाई निर्देशन दिनुभयो ।

सभापति श्रीवास्तवले अहिले बजारमा खानेपानीको अभाव भइरहेको पाइएको भन्दै यस्ता अभावका सामग्रीहरु परिपूर्ति गर्न र सुदूरपश्चिममा देखिएका विभिन्न समस्याहरुको समाधान गर्न पनि मन्त्रालयलाई समितिले निर्देशन दिएको बताउनुभयो । उहाँले साल्ट ट्रेडिङलाई चिनी लगायतका खाद्य सामग्रीहरुको पसल अन्य स्थानमा राख्न पनि निर्देशन दिनुभयो ।

सभापति श्रीवास्तवले समितिले चाडबाडका बेलामा आवश्यक खाद्यान्नहरुको तत्काल आपूर्ति गर्न पनि निर्देशन दिएको बताउनुभयो ।