
काठमाडौं, असोज १३ । जहाज दुर्घटना हुँदा छानविन समिति गठन गरेर झारा टार्दै आएको सरकारले अब भने उडानमा रहेका जहाजको भौतिक र यान्त्रिक अवस्थामै कडाई थालेको छ ।
यसका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वमा अध्ययन समिति नै बनाएको छ ।
समितिले वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयले जनाएको छ । समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव तोकिनुभएको छ ।
यो समितिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) बाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेको बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको समेत पुनरावलोकन गर्ने छ । त्यस्तै वायुयान चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएको बारेमा पनि समितिले परीक्षण गर्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पालना गर्नुपर्ने सुरक्षासम्बन्धी कामको अध्ययन गरी हवाइ सुरक्षाको गुणस्तर बढाउन समितिले सुझाव दिनेछ । यो कामका लागि समितिलाई तीन महिनाको समय दिइएको छ ।
सरकारले यस्तो परीक्षणपछि मापदण्ड पालना नभएको पाइए जहाज ग्राउण्डेड गर्नेछ । सोमबार मात्रै बुद्ध एयरको जहाजमा ल्याडिङ गियरसँग सम्बन्धित समस्या आएपछि विराटनगर उडेको जहाज काठमाडौंमा फर्काएर सकुशल अवतरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्