
रामेछाप, असोज १४ । सुनकोसी २ आयोजना खारेजीको माग गर्दै बिहीबार रामेछापका माझी समुदायले प्रदर्शन गरेका छन् ।
माझीहरुले जातीय पहिचान जोडिएकोले सुनकोसी २ आयोजना निर्माण नगर्न माग प्रदर्शन गरेका हुन् ।
आदिवासी माझी समुदायको पहिचानलाई नै समाप्त पार्ने, घर जग्गा र आय आर्जनबाट विस्थापित गराउने सुनकोसी २ आयोजना खारेजीको एक मात्र माग रहेको वाग्मती प्रदेश सभाकी सांसद रीता माझीले बताउनुभयो ।
बिहीबारको प्रदर्शनमा मादल बजाउँदै डुंगा, माछा अंकित व्यानरसहित सेतो फेटामा आएका माझीहरुले प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी र मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतलाई ज्ञापन पत्र बुझाएका थिए ।
बस्नेतले आदिवासी माझी समुदाय र जिल्ला सदरमुकामकै भविष्य अन्योल बनाउने आयोजनाका विषयमा स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो । कार्यक्रममा नेपाल माझी उत्थान संघ, केन्द्रीय समिति, नेपाल माझी महिला उत्थान संघ, केन्द्रीय समितिहरुले ऐक्यवद्धता जनाएका छन् ।
विद्युत् विकास विभागले सिन्धुली र रामेछापबीच बग्ने सुनकोसी नदीमा उच्च बाँध निर्माण गरी ९ सय ७८ मेघावाट क्षमताको आयोजना अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्