
काठमाडौं, असोज १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति महासंघको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रको मुल आधार कृषि क्षेत्र भएकोले कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापकीय सीप उपलब्ध गराउनुपर्ने बताउनुभएको हो ।
उहाँले विदेश जान बाध्य युवाका लागि सीपमुलक तालिमको व्यवस्था गरी रोजगारीको अवसर सुनिश्चित गर्नुपर्ने अहिलेको खाँचो रहेको बताउनुभयो । उहाँले मुलुकको समग्र विकासलाई नागरिकको आकंक्षाअनुरुप शीघ्रता दिनुपर्ने खाँचो रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले विद्यार्थीहरुलाई उपलब्ध गराइँदै आएको दिवा खाजाका लागि स्थानीय उत्पादनलाई समावेश गर्ने विषयमा जनप्रतिनिधिमुलक संस्था र शैक्षिक संस्थाको बीचमा आवश्यक सहकार्य र समन्वय हुनुपर्ने बताउनुभयो ।
उहाँले बालबिालिकाको स्वास्थ्य र बौद्धिक विकासका लागि पौष्टिक आहार र वातावरण निर्माण गर्न स्थानीय निकायले नेतृत्वदायी र गहन भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा स्थानीय निकायहरुले खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा नगरपालिका महासंघका अध्यक्ष अशोक व्यञ्जूले संवैधानिक व्यवस्थालाई बलियो बनाउनका लागि जनप्रतिनिधिले आफ्नो भूमिका बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा महिला, दलित, जनजाती, आदिवासीहरु समाजको सबैभन्दा ठूलो हिस्साको रुपमा रहेको तर अझै पनि यो हिस्सा कमजोर रहेको बताउनुभयो । उहाँले पिछडीएकालाई मुलधारमा ल्याउन स्थानीय सरकारलाई अझै सशक्त रुपमा जोडेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्