
काठमाडौं, पुस १४ । केन्द्रीय समितिको एकलौटी बैठक गरेर महाधिवेशनको मिति तोकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई फकाउन प्रयास थालेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुको बहिष्कारकै बीच शुक्रबारे बैठकबाट १४ औं महाधिवेशनको मिति तोकेपछि कांग्रेसमा कटूता बढेको छ ।
देउवाले आफ्नो निर्णयबाट असन्तुष्ट बनेकाहरुसँग सहमति खोज्न उपसभापति बिमलेन्द्र निधिलाई खटाएका हुन् । निधिले सोमबार पौडेललाई भेटेर सहमतिपूर्वक अगाडी बढ्न आग्रह गरेका छन् ।
आफ्नो निवास बोहोराटार आएका उपसभापति निधिलाई वरिष्ठ नेता पौडेलले पहिले शुक्रबारको निर्णय सच्याउनु अनि मात्र अरु कुरा अगाडि बढ्छ भन्ने जवाफ दिएर फर्काएका छन् ।
उपसभापति निधिले भने सहमतिको विकल्प छैन भन्दै सबै मिलेरै अगाडि बढ्नुपर्ने बताएका थिए । उनले नेविसंघ, तरुण दल, आसन्न सभामुखको निर्वाचनलगायत विषयमा सहमतिपूर्वक जानुपर्ने बताएका थिए ।
पौडेल पक्षको बहिष्कारकै बीच सभापति देउवाले गत शुक्रबारको केन्द्रीय समिति बैठक राख्न लगाई बहुमतबाट महाधिवेशनको कार्यतालिका तोक्ने, केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने र विधानका धारा निलम्बन गर्ने जस्ता दूरगामी निर्णय गरेका थिए ।
देउवा पक्षीय केन्द्रीय समितिको उक्त निर्णयप्रति पौडेल पक्षले आपत्ति जनाएको छ । पौडेल पक्षलाई बाहिरै राखेर निर्णय गरिएकामा पार्टीका अरु नेताले पनि राम्रो नभएको बताएका छन् । आइतबार देउवा निवासमा भेला भएका मध्ये केही नेताले त्यसरी निर्णय लिँदा सन्देश राम्रो नगएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्