
काठमाडौं, असोज १७ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद थप्दै पदाधिकारीको संख्या १५ पुर्याउने निर्णय गरिएको छ ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा समूहगत छलफलबाट आएका सुझाव समेट्दै वरिष्ठ उपाध्यक्ष पद थपिएको हो ।
पौडेलले पेश गरेको संशोधन प्रस्तावमा उपमहासचिव पद पनि राखिएको थिएन । तर समूह छलफलले उक्त पद पनि राख्न भनेको छ ।
समूहगत छलफलमा उठेका विषयको जवाफ दिँदै पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पदसहित पदाधिकारी संख्या १५ हुने जानकारी दिनुभयो । पहिले दुई उपमहासचिव पद रहेकामा अब भने एक जना मात्र रहने छ ।
अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने छ । समूहगत छलफलमा विशेष महाधिवेशनमा कोषाध्यक्ष राख्न माग भए पनि उक्त पद नराखिने भएको छ ।
यसैबीच, महाधिवेशनका प्रतिनिधिहरुले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका पक्षमा पार्टी लाग्नुपर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्