१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत् प्राधिकरणको कारवाही इन्टरनेटमा, इन्टरनेटको मारमा नागरिक


13
Shares

काठमाडौं, असोज १७ । नेपाल विद्युत प्राधिकरणले उपत्यकालगायत देशका विभिन्न स्थानमा सांकेतिक भन्दै इन्टरनेटको तार काट्न थालेपछि सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् । अत्यावश्यक सेवाको कोटीमा पर्ने इन्टरनेट सेवा अवरुद्ध भएसंगै जनस्तरमा आक्रोश शुरु भएको छ । इन्टरनेट नचलेपछि चितवनका बैंक, हवाई सेवा र बजार समेत प्रभावित भएको छ ।

विद्युत प्राधिकरणले इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काट्न सुरु गरेपछि चितवनका ईन्टरनेट सेवा प्रदायक संस्था सेवा ठप्प पारेर आन्दोलित हुँदा सेवाग्राही मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेको भन्दै शनिबारबाट सेवा प्रदायकहरूको लाइन काट्न सुरु गरेको हो । हरेक क्षेत्रमा अनिवार्य आवश्यकता बनिसकेको ईन्टरनेट सेवा ठप्प हुँदा ग्राहकहरु प्रत्यक्ष मारमा परेका छन् भने दैनिक कामकाज समेत रोकिएको हो । इन्टरनेट सेवा नभएकै कारण त्यसको प्रत्यक्ष प्रभाव हवाई सेवामा परेको छ । हवाई टिकट सहज नहुँदा भरतपुर विमानस्थलमा भीडभाड भएको बुद्ध एयर भरतपुरका प्रमुख भक्त बस्नेत बताउनुहुन्छ ।

त्यस्तै, इन्टरनेट नभएपछि पिलेन नै उडाउन कठिनाइ भएको गुण एयरलाइन्सका सल्लाहाकार कुलराज शर्मा पौडेल बताउनुहुन्छ ।

नेपाल टेलिकमबाहेक अन्य इन्टरनेट प्रदायक संस्थाहरुले सेवा ठप्प पार्दा विद्यालय, अस्पताल, लगायत इन्टरनेटबाट काम हुने सवै क्षेत्र प्रभावित बनेको छ ।

२०७५ सालदेखि ईन्टरनेट सेवा प्रदायक कम्पनीले भाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले ईन्टरनेटको लाईन काट्न थालेको हो । दुरसञ्चार प्राधिकरणले शनिबारै विज्ञप्ती निकाली ईन्टरनेट सेवा अवरुद्ध गर्न नहुने बताएको थियो । तर विद्युत प्राधिकरणले भने अर्बाै उठाउन बाँकी रहेको बताएको हो ।

डिजिटल नेपाल बनाउने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै उल्लेख गरिएको छ । तर विद्युत प्राधिकरण भाडा समायोजन गर्न मानिरहेको छैन भने अर्काेतिर सेवा प्रदायकले भाडा तिर्न मानिरहेका छैनन् । यी दुई संस्थाबीचको किचलोमा अत्यावश्यक सेवा हुँदै गएको ईन्टरनेट सेवा प्रभावित बन्दा उपभोक्तामा साढेको जुधाई बान्छाको मिचाई भने झैं भएको छ ।