
दिपेन्द्र अधिकारी
काठमाडौं, असोज १७ । साम्यवादको वकालत गर्नु पर्ने नेपालका कम्युनिष्ट नेताहरुमा म मात्र सत्य हुँ भन्ने अहंमवादी चरित्र मौलाउदै गएको छ । एककोषिय जीव अमिवाजस्तै पटक पटक टुक्रेका कम्युनिष्ट पार्टीका नेताहरु बाम आन्दोलन धान्न सक्ने तागत आफूसँग मात्र रहेको हल्का दाबी गर्न पछि पर्दैनन । उनीहरुको सक्कली रुप भने फरक छ ।
नेपालको कम्युनिष्ट आन्दोलनको ७२ वर्षे इतिहास टुटफुटले भरिएको छ । सत्ता र मुलधारको राजनीतिमा रहेका कम्युनिष्ट पार्टीहरु सत्ताकै लागि फुट्ने गरेको टिकाटिप्पणी सुनिन्छ । टुटफुटप्रति रत्तिभर चिन्ता नगरी सार्वजनिक मञ्चबाट म मात्र ठीक अरु बेठीक भन्दै कुर्लने बानी कम्युनिष्ट नेताहरुमा परेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दुई तिहाइ भत्काएर छोड्ने, आफ्नो प्रधानमन्त्री हटाएर छोड्ने अनि अर्का पार्टीकोलाई प्रधानमन्त्री खाइदिनुभन्ने भन्नु भएको थियो ।
अरुलाई जति सत्तोसराप ग¥यो, बेकम्मा भन्यो त्यतिनै कार्यकर्ताको वाहवाही पाइने लोभमा सार्वजनिक मञ्चमा चिच्याइचिच्याई उत्तेजक भाषण गरिन्छ । यसो गर्नेलाई कम्युनिष्ट नेता भन्नै नमिल्ने नेकपा मालेका महासचिव सिपी मैनालीको टिप्पनी छ ।
दुई कम्युनिष्ट पार्टीबीच एकता भएर बनेको नेकपा टुक्राटुक्रामा विभाजित भयो । बीचबाटोमै छुट्टिएका एमाले र माओवादी केन्द्र अनि एमालेबाट विभाजित भई गठित नेकपा एकीकृत समाजवादी पार्टी अहिलेको कम्युनिष्ट राजनीतिको मुलधारमा छन् । ठाउँ पायो कि एकले अर्कालाई भित्तामा पु¥याउने रणनीति यी तीन वटै दलका नेताहरुमा देखिएको छ । त्यतिमात्र होइन, एकले अर्कोलाई कम्युनिष्ट नै नभएको कथाहरु सुनाउँछन् ।
कम्युनिष्ट भएपनि सौतेनी भाई जस्तो चरित्र अहिलेका कम्युनिष्ट पार्टीमा भएको मैनाली बताउनुहुन्छ ।
सत्रुतापूर्ण राजनीतिमा उत्रिएका कम्युनिष्ट नेता मै मात्र कम्युनिष्ट हो, मै मात्र जान्ने बुझ्ने हो भन्ने आत्मरतिमा रमाउँदा बामपन्थी आन्दोलनमात्र होइन, देशलाई नै असर पारिरहेको छ ।
अहिलेको शासकीय व्यवस्था र संविधान बमोजिम प्रधानमन्त्री समेत भएका नेताहरु अहिले यसकै विरुद्ध उभिएको भान हुन थालेको छ । संसदबाट निर्वाचिन प्रधानमन्त्रीको साटो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको बहस त्यसैको पछिल्लो भद्दा नमुना हो ।
प्रतिक्रिया दिनुहोस्