
काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका तीन नेताबीच आज पनि फेरि अलग्गै छलफल भएको छ ।
आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका वर्तमान उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको हो ।
भेटमा तीन नेताबीच १४औँ महाधिवेशन र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिनुभएको छ ।
निधिनिवास बानेश्वरमा भएको छलफलमा महाधिवेशनको रणनीति, सहमतिमा नेतृत्व चयन, सरकारको भूमिका लगायतका विषयमा केन्द्रित रहेको हो ।
कांग्रेसमा १४ औं महाधिवेशनको कार्यक्रम शुरु भएयता तीन नेताबीच बाक्लै भेटघाट भएको छ भने उनीहरुबीच एक जनालाई सभापतिको साझा उम्मेदवार बनाएर जानेबारेमा छलफल हुँदै आएको छ ।
तर तीनै नेता सभापतिका आकांक्षी भएकाले कसले कसलाई छाड्ने र स्वीकार्ने भन्ने निश्चित छैन । संस्थापन पक्षमा रहेका निधि वर्तमान सभापति शेरबहादुर देउवा आफै नेतृत्वमा उठ्ने भएपछि उम्मेदवारी घोषणा गर्दै अरु दुई नेतासँग छलफलमा हुनुहुन्छ ।
संस्थापन इतरमा रहेका कोइराला र सिंह दुबै आफै नेतृत्वको आकांक्षी हुनुभएकाले लगातारको भेटमा पनि नेतृत्वको विषय टुंगोमा पुगेको छैन ।
कांग्रेसमा उहाँहरु अलवा वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शेखर कोइराला पनि सभापति पदको आकांक्षी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्