२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रकाशमानको आक्रोश– हामी सधैं झोला बोक्न मात्रै हो ?

‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’

0
Shares

काठमाडौं, असोज २० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंबाट अहिलेसम्म कोही पनि पार्टीको सभापति हुन नपाएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

मंसिर ९ देखि १३ गतेसम्म आयोजना गरिएको पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएका सिंहले काठमाडौंका कांग्रेस कार्यकर्ता सधैं अरुको झोला बोक्ने मात्रै हुन् भन्दै नेता–कार्यकर्तालाई प्रश्नसमेत गर्नुभएको हो ।

आज नेपाली कांग्रेस नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले भन्नुभयो, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’

१३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको जिकीर गर्दै सिंहले भन्नुभयो, ‘त्याग नै त्याग भनेर मात्र हुन्छ ? १३ औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो । म पहिले महामन्त्री जितेको हुँ । बीपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ ।’

पदमा पुग्न होडबाजी गर्ने नेताहरुले पद पाइसकेपछि काम नगरेको भन्दै सभापति शेरबहादुर देउवाले पनि पद ओगटेको तर काम गर्न नसकेको आरोप लगाउँदै भन्नुभयो, ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन ।’

पार्टीमा गूटै गूट रहेको भन्दै सिंहले थप्नुभयो, ‘ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेसभन्दा पनि नेपाली कांग्रेस जनताले खोजेको हो ।’

१४ औं महाधिवेशनपछि जनताले खोजेजस्तो नेपाली कांग्रेस आउने आशा देखाउँदै सिंहले त्यसका लागि नेता–कार्यकर्ताले आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेता–कार्यकर्ताले अगाडि बढ्न आफूलाई भनेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुपर्‍यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन् । प्रजातन्त्र जोगाउनुपर्‍यो । पार्टी संस्थागत गर्नुपर्‍यो । जनतालाई सहयोग गर्नुपर्‍यो भन्ने हो । मलाई पदमा पुगेर पैसा कमाउनु छैन ।’

पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति बनेकाले यसपटक काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने भन्दै सिंहले थप्नुभयो, ‘यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो ।’